बुटवल, साउन, \औद्योगिक विकाससँगै आर्थिक संमृद्धिको मुद्दालाई कसरी साकार पार्न सकिन्छ भन्ने विषयमा सञ्चारकर्मी र उद्योगीहरु एक भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिइएको छ । आर्थिक विकासका लागि स्वदेशी उत्पादनको प्रर्वद्धन जरुरी भएको अवस्थामा त्यसको संरक्षण र सुरक्षाको लागि सञ्चार जगतले निरन्तर आवाज उठाई दिन उद्योगिहरुले आग्रह गरेका छन् ।
रुपन्देही उद्योग संघको आयोजनामा भएको परिचय तथा छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले औद्योगिक विकासका मुद्दालाई सञ्चार जगतले प्राथमिकता दिदै आएको छ र अब स्वदेशी उद्योगको स्थायित्वको लागि भूमिका खेल्न अनुरोध गरिएको थियो । आर्थिक विकासका लागि स्वदेशी उत्पादन र उद्योगको प्रर्वद्धन जरुरी रहेको हुँदा त्यसका लागि राज्यले निर्वाह गर्नु पर्ने दायित्वका बारेमा सञ्चार जगतले निरन्तर सचेत गराइदिन उद्योगिहरुले आग्रह गरेका छन् ।
रुपन्देही उद्योग संघले २०५७ सालमा स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट हालसम्म सम्मानित पत्रकारहरुसँगको सामुहिक भेटका अवसरमा उद्योगिहरुले सो अपिल गरेका हुन् । पुरस्कारबाट हालसम्म सम्मानित पत्रकारहरु र संघका पदाधिकारीहरुवीच परिचयसँगै आगामी दिनमा उद्योगका मुद्दाहरुलाई कसरी उठान गर्ने भन्ने बारेमा सामुहिक छलफल सँगै समग्र आर्थिक समृद्धिको विषयमा ठोस लक्ष्य र योजना बनाएर अगाडि बढ्नु पर्ने सुझाव राखिएको थियो ।
संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले रुपन्देही उद्योग संघ र पत्रकारवीच नङ र मासुको जस्तै सम्बन्ध रहेको र आगामी दिनमा त्यसै प्रकारको सम्बन्ध रहनु पर्ने बताउनु भयो । अधिकारीले सञ्चार क्षेत्रमा उद्योगीहरुमाथि परेका समस्यासँगै उद्योगीहरुबाट भएका गल्ती कमजोरीहरुको पनि पूर्वाग्रह विना सुधार गर्ने अभिप्रायले आलोचना गर्न आवहान गर्नु भयो । पछिल्लो समय ट्रेड मार्केटले स्वदेशी उद्योग र उत्पादनमाथि हमला भैरहेको गुनासो गर्दै अधिकारीले लगानी मैत्री र लगानी सुरक्षाको नीति निर्माणमा राज्यलाई दवाव दिने काममा सञ्चार क्षेत्रले नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष परिषदका संयोजक संघका पूर्व अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले यस क्षेत्रको औद्योगिक विकासमा सञ्चार जगतले निकै सकारात्मक भूमिका निर्वाह गरेको स्मरण गर्दै अब उद्योगहरुको संरक्षणमा योगदान गर्न आग्रह गर्नु भयो । श्रेष्ठले उद्योगको विकासमा राज्यका नीतिगत अप्ठ्याराहरु धेरै रहेको हुँदा अब संरक्षणको नीति निर्माण गर्न सबैले दवाव दिनु पर्ने धारणा राख्नु भयो ।
संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराको स्वागत तथा महासचिव कृष्णप्रसाद पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु पिएल श्रेष्ठ, वोनिन पिया, सतिषचन्द्र कशौधन, पत्रकारहरु महेन्द्र थापा, हरिश ढकाल, रामराज पोखरेल, टोपराज शर्मा, माधव ढुङ्गाना, अमृता अनमोल, बिपी गौतम, युवराज पाण्डे लगायतले बोल्नु भएको थियो । धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष माधव पौडेलले गर्नु भएको थियो ।
संघले २०५७ सालमा स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार रुपन्देहीलाई कार्यथलो बनाई उद्योगको संरक्षण र औद्योगिक विकासमा कलम चलाउने पत्रकारहरुबाट उत्कृष्ट छनौट गरी प्रत्येक बर्ष पुरस्कार वितरण गर्दै आएको छ । यस पुरस्कारबाट हालसम्म १८ जना पत्रकार पुरस्कृत भइसक्नु भएको छ । स्थापनाकालमा रु.५०००।– रहेको पुरस्कारको राशी अहिले २५ हजार पुगेको छ ।