नयां वर्ष शुरु, धुमधामका साथ मनाइदै

प्रकाशित मिति:

बुटवल-विक्रम संवत अनुसार आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नेपालीहरुले विक्रम संवत अनुसार वैशाख १ गतेलाई नयां वर्ष मान्दै आएका छन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयां वर्षको खुशियालीमा परिवारका सदस्य, प्रेमी प्रेमिका नयां ठाउं घुम्न जाने, नयां वर्षमा गर्न सकिने कामको योजना बनाउने र बितेको वर्षको समीक्षा गर्ने चलन छ । नयां वर्षको दिन बिहान मन्दिरहरुमा गएर पूजाआजा गर्ने र दिउसो पर्यटकीय स्थलहरुमा घुम्न जाने रमाइले गर्न गरिन्छ । आज बुद्धजन्मस्थल लुम्बिनी, शंकरनगरस्थित वन वाटिका, बुटवलको फूलबारी,हिलपार्क, ग्लोबल पिसपार्क,दानापुर ताल गजेडी,पाल्पाको श्रीनगर,रानीमहल लगायतका स्थानहरुमा घुम्न जानेको भीड लाग्ने गर्छ । यस्तै रेष्टुरा,क्याफेहरुमा पनि खानपिनका लागि जानेहरुको आज बाक्लो उपस्थिति हुन्छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने प्रचलन पनि छ । नयां वर्ष २०७६ को पावन अवसरमा हाम्रा समस्त पाठक,विज्ञापनदाता र शुभेच्छुकहरुमा सबलपोष्ट डटकमको तर्फबाट धेरै धेरै शुभकामना ।