अमेरीकामा भएको फुटवल खेलमा खुकुरी फुटबल क्लब बिजयी

प्रकाशित मिति:

अमेरीका । नेप्लिज हेरिटेज यूनियन एनएचयूले नेपाली नयाँबर्ष २०७६ को उपलक्ष्यमा आयोजना गरेको फुटबल सकर टुर्नमेण्ट अन्तर्गत भएको फाइनल खेलमा खुकुरी फुटबल क्लब बिजयी भएको छ। फाइनलमा खुकुरी क्लबले डेड रनर फुटबल क्लबलाई ६,२ गोलले हराएर प्रतियोगिताको च्याम्पियन घोषित भएको हो। यसअघि आजै भएको सेमिफाइनल खेलमा डेड रनरले चन्द्रसूर्य क्लबलाई हराएको थियो भने खुकुरी क्लबले ह्युस्टन थण्डरलाई हराउँदै फाइनलमा डेडरनरसंग आफ्नो भिडन्त निश्चित गरेको थियो। स्थानीय आठ वटा फुटबल क्लबहरुबीचको प्रतियोगितामा दुई चरणमा गरेर जम्मा १६ खेलहरु भएका थिए। आज दुईवटा सेमिफाइनल खेलहरु सहित फाइनल खेल पनि खेलाइएको थियो। बिजेता खुकुरी क्लबले नगद पाँचसय डलर सहित च्याम्पियन्स ट्रफी समेत प्राप्त गय्रो भने उपबिजेता डेडरनर फुटबल क्लबले नगद तीनसय र ट्रफी प्राप्त गरेको छ। त्यसैगरी तेश्रो स्थानको लागि समेत आज भएको खेलमा चन्द्रसूर्य फुटबल क्लबले नेपाली भाषी भुटानी युवाहरुको ह्युस्टन थण्डर फुटबल क्लबलाई हराउँदै तेश्रो भएर नगद दुई सय डलर र ट्रफी हात पारेको छ।

प्रतियोगितामा खुकुरी क्लबका खेलाडी विकास मगर सबै भन्दा बढी गोल गर्दै उत्कृष्ट गोल स्कोरर घोषित भए भने उत्कृष्ट गोलरक्षकको उपाधि पनि खुकुरी कै आशुतोष श्रेष्ठले पाउन सफल भए। यसैगरी चन्द्रसूर्यका खेलाडी कुशल कार्की  प्लेयर अफदिटुर्नमेण्ट घोषित भए। तिनैजना उत्कृष्ट खेलाडीहरुलाई नगद ५० डलर र ट्रफी प्रदान गरिएको आयोजकहरुले बताएका छन्। एनएचयूका खेल संयोजक एवं उपाध्यक्ष जनार्दन कँडेल जेकेले संयोजन गरेको खेललाई सफल पार्न स्थानीय व्यवसायी तथा समाजसेवीहरुको सक्रिय सहयोग प्राप्त भएकोमा सबै सहयोगीहरुलाई कँडेलले धन्यवाद दिएका छन्।