काठमाडौँ -‘भाग्यले बाँचेकाहरू’ जस्तो वृत्तचित्र बनाएर संसारभर ख्याती कमाएका पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेलाई नेपाल सरकारले प्रबल जनसेवा श्री चौथोबाट विभूषित गरेको छ ।
३ असोज, संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक नयाँ बर्षका दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा पाण्डेलाई विभूषित गरिएको हो ।
पाण्डेसहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्यलाई पनि विभूषित गरिएको थियो ।नेपाल सरकारको गौरब एवम् नेपाली जनताको हित अभिबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले विभूषित गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले हस्ताक्षर रहेको विभूषणपत्रमा मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालीको श्रीबृद्धिमा थप सफलता मिलोस भन्ने उल्लेख गरिएको छ ।
पाण्डेले १२ वैशाख, ०७२ को महाभूकम्पमा जोखिमले ज्यान बाँचेकाहरूको जीवनीलाई क्यामेरामा उतार्दै संसारभर नेपालको अवस्थाका बारेमा ‘भाग्यले बाँचेकाहरू’मार्फत चिनाएका थिए ।दैनिक नेपालका संस्थापक पाण्डेलाई सोही बृत्तचित्रका लागि बेलायतको संसदले सम्मान गरेको थियो भने अमेरिकी सरकारले पनि उनको कामको प्रशंशा गर्दै सम्मान गरेको थियो ।उक्त वृत्तचित्रका लागि लागि युरोपसहितका १७ देशले पाण्डेलाई अवार्ड दिइसकेका छन् ।पाण्डेले नेपाल सरकारले काम र मिहेनतको मुल्यांकन गरी दिएको पदकको गरिमा राख्नका लागि अझै मिहेन जारी राख्ने बताएका छन् । उनले नेपाल सरकारले आफूमाथि राखेको विश्वास र भरोसलाई अझ मजबुद बनाउँदै मुलुकको हित हुने, समुदायको खास मुद्दामा कलम चलाउनुका साथै क्यामेरा पनि चलाउने बताए ।