लन टेनिसमा एपीएफको बर्चश्व

प्रकाशित मिति:

बुटवल-बुटवलमा संचालित आठौं राष्ट्रिय खेलकुद अन्तर्गत लन टेनिस प्रतियोगितामा सशष्त्र प्रहरीको एपीएफ क्लबले वर्चश्व जमाएको छ । एपीएफले कूल पांचवटा इभेन्टमध्ये चार इभेन्टमा स्वर्ण पदक जितेको छ । सशष्त्रले महिला एकल, पुरुष युगल, महिला युगल र मिश्रित युगलमा स्वर्ण जितेको हो ।

जस अन्तर्गत महिला एकलमा प्रेरणा कोइरालाले , पुरुष युगलमा जितेन्द्र परियार र विदेशी खेलाडी आइभन्हो लिसानोभिजको जोडीले,महिला युगलमा सलोनी तामाङ र अलेसा लिसानोभिचको जोडीले र मिश्रित युगलमा आइभन्हो लिसानोभिच र अलेसा लिसानोभिचले स्वर्ण पदक जितेका छन् । एक स्वर्ण पदक भने पुरुष एकलतर्फ एनआरएनए टिमका संरक्षक भुषण बज्राचार्यले जितेका छन् । महिला युगलमा एपीएफकै प्रेरणा कोइराला र एनी माथेमाले रजक पदक जिते भने गण्डकी प्रदेशकी श्रीया भट्टराई र रोमिका बुद्धाचार्य तथा नेपाली सेनाका अभिलाषा विष्ट र आइरा एम रावतले कास्य पदक जितेका छन् ।

मिश्रित युगलमा नेपाली सेनाका प्रणव खनाल र अभिलाषा विष्टले रजक पदक, गण्डकी प्रदेशका अनिल शाही र गंगा शर्मा तथा नेपाली सेनाका अभिनव आचार्य र आइराएम रावतले कास्य पदक जितेका छन् । पुरुष एकलमा नेपाली सेनाका प्रणव खनालले रजक तथा एपीएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदीप खड्काले कास्य पदक जितेका छन् । महिला एकलमा नेपाली सेनाका अभिलाषा विष्टले रजक तथा नेपाली सेनाकै आइरा एम रावत र प्रदेश ३की रायना शाहले कास्य पदक जितेका छन् । पुरुष युगलमा गण्डकी प्रदेशका प्रदीप खड्का र नवीन मगरले रजक तथा गण्डकी प्रदेशकै धरम लामिछाने र अनिल शाही एवं एपीएफका छेवाङ लामा र सन्तोष खत्रीले कास्य पदक जितेका छन् । विजयी खेलाडीहरुलाई सोमबार लन टेनिस संघकी केन्द्रीय अध्यक्ष ज्योति राणा,जिल्ला अध्यक्ष अशोक गुरुङ, प्रतियोगिता संयोजक गोपाल ज्ञवाली,जिल्ला खेलकुद विकास समिति अध्यक्ष योग गुरुङ,उपाध्यक्ष मुक्ति अधिकारीले पदक,मेडल र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा लन टेनिस संघकी अध्यक्ष राणाले बुटवलको लन टेनिस कोर्ट अन्तराष्टिय स्तरको बनेकामा सराहना गर्दै बुटवलमा अन्तराष्ट्रिय लन टेनिस प्रतियोगिता आयोजना गर्न पहल गर्ने बताइन् ।