तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्ने

प्रकाशित मिति:

तिलोत्तमा-तिलोत्तमा नगरपालिकाले यो वर्ष लगानी सम्मेलन गर्ने भएको छ । कार्यपालिका बैठकमा निर्णय भएअनुसार उपप्रमुख जगेश्वरदेवी चौधरीको संयोजकत्वमा लगानीका क्षेत्र पहिचान गरी योजना अघि बढाउने निर्णय भएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

नगरको समग्र विकासका लागि नगरपालिकाको आन्तरिक श्रोतले मात्र सम्भव नभएकाले निजी क्षेत्रका लगानीकर्ता भित्ररयाउने निश्कर्षमा पुगिएको उनले बताए ।नगरपालिकाको योजनाअनुसार लगानीका क्षेत्र कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, पर्यटन, पूर्वाधार शिक्षा, खानेपानी, फोहर मैला व्यवस्थापन लगायतलाई प्राथमिकतामा राखिएको छ । अहिलेसम्म सरकराको अनुदान र नगरको आन्तरिकस्रोत नै मुख्य रहेको थियो ।

बाह्य दातृ निकाय, तथा नगरपालिका र अन्य क्षेत्रहरुलाई पनि समावेश गराई लगानीका क्षेत्र पहिचान गर्ने, प्रोजेक्ट बनाउने र समग्र क्षेत्रको विकासका लागि लगानी सम्मेलन गरेर विश्वासको वातावरण र लगानीको वातावरण बनाउनेतर्फ सम्मेलन केन्द्रित रहने उनले बताए ।सम्मेलनका लागि पहिलो चरणको बैठक बसेको र कार्यपालिकाको निर्णय अनुसार प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा सचिवालय गठन भएको उनले जनाए । सम्मेलनका लागि क्षेत्र पहिचान गर्ने, नितीगत कुरा र प्रशासनिक काम एक चरणमा पुगिसकेको श्रीको भनाई छ ।सम्मेलनका लागि अर्को बैठक बसी मिती तोक्ने, दातृ निकायका लगानीकर्तालाई आह्वान गर्ने , निजी क्षेत्रका लगानीकर्तालाई छलफलमा डांक्ने जस्ता कामका लागि तयारी भएको प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए ।