सुशिल कोइरालाको एउटा सपना पुरा हुँदै, शिलान्यास सुशिलबाट ब्रेक थ्रु ओलीले

प्रकाशित मिति:

काठमाडौं –  मध्य पश्चिमको भेरीको पानीलाई १२ किलोमिटर लामो सुरुङ मार्फत बबईमा खसालेर ४६ दशमलव ८ मेघावाट बिजुली निकाल्ने र बाँके–बर्दियामा ५१ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशिल कोइरालाको एउटा सपना पुरा हुने संघारमा आइपुगेको छ। २०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ आज छिचोलिँदैछ। चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले, तोकिएको मितिभन्दा एकवर्ष अगाडि नै सुरुङ खन्ने काम सकेको हो।

टनेल बोरिङ मेसिन—टीबीएम प्रयोग गरेर खनिएको सुरुङ, आज प्रधानमन्त्री केपी शर्मा ओलीले छिचोल्ने कार्यक्रम छ।ओलीको हातबाट सुरुङ छिचोल्नका, लागि १२ किलोमिटर लम्बाइमध्ये दुई मिटर मात्र बाँकी राखिएको छ। आज प्रधानमन्त्रीले मेसिनको स्वीच दबाएर सुरुङ छिचोल्ने, आयोजनाका निर्देशक सञ्जीव बरालले जानकरी दिए। सुरुङ्ग निर्माणका लागि २०७४ कात्तिक २० गते बबईबाट छिरेको टीबीएम मसिन झण्डै १८ महिनापछि सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेबाट निस्किँदैछ।

सम्झौता अनुसार आउँदो चैत १५ गतेसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने भएपनि, टीबीएम मेसिन प्रयोग गरेपछि, सम्झौता मिति भन्दा करिब एक वर्षअघि नै काम सकिएको हो। सुरुङ खन्ने काम सकिएसँगै अब भेरीको पानी सुर्खेत र बर्दियाको सीमामा रहेको बबई नदीमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने काम थालिनेछ। चुरे क्षेत्रको पहाडमा १२ दशमलव २ किलोमिटर लामो सुरुङ खनिएको हो। यो सुरुङ निर्माणका लागि सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनी कोभेकवीच २०७१ माघ १५ गते ठेक्का सम्झौता भएको थियो। स्वदेशी लगानीमा नै निर्माण हुन लागेको यो आयोजनाको काम २०७१ बाट सुरु भएको हो। २०७९ सालसम्म आयोजनाका सबैकाम सकिने आयोजनाले लक्ष्य राखेको छ।