पत्रकार पक्राउको बिरोधमा संचार संस्थाले गरे “ब्ल्याक आउट”

प्रकाशित मिति:

पोखरा – समाचार लेखेका आधारमा पक्राउ परेका ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोध गर्दै पोखराबाट प्रकाशित सबै पत्रपत्रिकाहरुले सम्पादकीय कोलममा ‘ब्ल्याक आउट’ कालो पोतेका छन् ।

‘प्रेस माथिको ज्यादती बन्द गर ! विद्युतीय कारोबार ऐनको दफा ४७/४८ खारेज गर’ उल्लेख गर्दै पत्रपत्रिकाले पत्रकार गिरीको रिहाईको माग समेत गरेका हुन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको अपिलमा स्थानीय रेडियो तथा टेलिभिजनहरुले बिहान ६ बजे ९० सेकेण्ड प्रसारण रोकेका छन् ।

अनलाइनहरुले पप्अप स्किप एडमा कालो ब्यानरसहित विरोध जनाएकाछन् छन् ।
त्यस्तै, पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ११ वटै जिल्लाका प्रशासन कार्यालय तथा प्रहरी कार्यालय अगाडी धर्ना दिन आह्वान गरिएको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।

गोरखा, तनहुँ, स्याङ्जा र कास्कीमा मंगलबारदेखि नै पत्रकारहरुले प्रहरी कार्यालय अगाडी धर्ना दिन सुरु गरिसकेका छन् । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध ठगी विषयमा समाचार प्रकाशित गरेका गिरीलाई गत सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो ।