उपसभापति निधिद्धारा पार्टीका तर्फबाट हावाहुरी पीडितलाई ४१ लाख रुपैंया हस्तान्तरण

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बारा र पर्साका हावाहुरी प्रभाबित क्षेत्रको पुनर्निर्माणका लागि पार्टीका तर्फबाट बुधबार ४१ लाख रुपैंया ह स्तान्तरण गरेका छन्

प्रकाशित मिति:

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बारा र पर्साका हावाहुरी प्रभाबित क्षेत्रको पुनर्निर्माणका लागि पार्टीका तर्फबाट बुधबार ४१ लाख रुपैंया ह स्तान्तरण गरेका छन्।

गत चैत १७ गतेको भीषण हावाहुरीले पुरयाएको क्षतिपछि उत्पन्न परिस्थितिका बिषयमा प्रदेश नम्बर २ स्तरीय छलफलमा सहभागी हुन सिमरा पुगेका उपसभापति निधिले नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियामार्फत प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन्। त्यस अबसरमा उपसभापति निधिले केन्द्र र प्रदेश सरकारको खिचातानीका कारण पुनर्निर्माणमा भएको ढिलाईप्रति असन्तुष्टी जनाएका थिए। उनले प्रदेश २ का कांग्रेस कार्यकर्तालाई पुनर्निर्माणको काममा जुट्न निर्देशन दिए।

सिमरामा भएको छलफलमा प्रदेश नम्बर २ बाट कांग्रेसका केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं ८ वटै जिल्लाका सभापति सहभागी थिए। हावाहुरीको भोलिपल्टै कांग्रेसका तर्फबाट उपसभापति निधिले बारा र पर्साका प्रभाबित क्षेत्रमा पुगेर घाइते तथा मृतकका परिवारजनसंग भेटघाट गरेका थिए। त्यस अबसरमा उपसभापति निधिले प्रदेश नंबर २ र आफ्नो तर्फबाट हावाहुरी प्रभाबितका लागि १० लाख सहयोग गर्ने घोषणा गरेका थिए। लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा पनि घटनास्थल पुुगेर पार्टीका तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरेका थिए। यसबाहेक नेपाली कांग्रेस डेनमार्क जनसम्पर्क समितिका तर्फबाट प्राप्त रकम पनि उपसभापति निधिले बुधबार नै हस्तान्तरण गरेका हुन्।