नेपाललेे अन्तरिक्षमा पठायो पहिलो भूउपग्रह ‘नेपाली स्याट-१’

प्रकाशित मिति:

ललितपुर – नेपालले पहिलो पटक आफ्नो भूउपग्रह प्रक्षेपण गरेको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्‍जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्‍जिनियरिङमा स्‍नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड-३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट-१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो ।

नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ । नेपाली युवाले बनाएको भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ। नेपालसँगै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ । भूउपग्रहले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।

नाष्टले भूउपग्रहको सूचना लिनका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी गरिरहेको छ । उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टका इञ्‍जिनीयर रोशन पाण्डेले जानकारी दिए । नाष्टमा पहिले लामो समय उपकुलपति नियुक्त नहुँदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो । विगतमा उपकुलपति र हाल सचिवको पद रिक्त रहँदा केही समस्या हुन्छ कि भन्ने महसुस गरिएको छ ।जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ । ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ – बाह्रखरी