भारतमा एप्पल र गुगल दुवैले हटाए ‘टिकटक’

प्रकाशित मिति:

भारतमा एप्पल र गुगल दुवैले टिकटकलार्य आफ्नो एप स्टोरबाट हटाएका छन् । भिडियो बनाउने र सेयर गर्ने एप पछिल्लो समयमा भारतमा लोकप्रिय बनेको थियो । मद्रास उच्च अदालतले त्यसलाई हटाउन निर्देशन दिएपछि भारतको सूचना प्रविधि मन्त्रालयले एप्पल र गुगललाई पत्राचार गरी सो एप हटाउन आग्रह गरेको थियो ।
गुगलले मंगलबार नै हटाएको भए पनि एप्पलले बुधबार हटाएको थियो । तमिलनाडुस्थित स्थानीय अदालतले सो आदेश दिएको केही समयमै गुगलले मंगलबार सो सम्बन्धी निर्णय गरेको बताइएको छ । चीनको बाइटेडेन्स टेक्नोलोजीको सो एप बन्दले यसको मुख्य बजार नै संकटमा पर्ने अवस्था उत्पन्न भएको छ । स्थानीय अदालतले यही अप्रिल ३ का दिन संघीय सरकारलाई टिकटक बन्द गर्न भनेको थियो । त्यसमा यसले पोर्नोग्राफीलाई प्रवर्द्धन गरेको जनाएको थियो । एक व्यक्तिले यसलाई रोक लगाइनुपर्ने भन्दै अदालतमा सार्वजनिक चासोको मुद्दा हालेपछि अदालतले सो आदेश दिएको थियो । त्यसपछि संघीय सरकारले एप्पल र गुगललाई पत्राचार गरेर अदालतको आदेशबारेमा जानकारी गराएको सूचना प्रविधि सम्बन्धी भारतीय मन्त्रालयका अधिकारीले जानकारी गराएका छन् ।

गुगलले एक वक्तव्यमा कुनै निश्चित एपका बारेमा आफूले टिप्पणी नगर्ने बताउँदै स्थानीय कानुनअनुसार भने चल्ने जनाएको छ । एप्पललाई भने यसबारेमा टिप्पणी गर्न आग्रह गर्दा कुनै प्रतिकृया दिएन । गुगलको पछिल्लो निर्णयको बारेमा टिकटिकले पनि कुनै प्रतिक्रिया जनाउन चाहेन । टिकटकले छोटो भिडियो बनाउने र त्यसलाई शेयर गर्ने गर्दछ जुन भारतमा निकै लोकप्रिय रहेको छ ।

भारतमा यसमा राखिने सामग्रीलाई लिएर केही राजनीतिज्ञले आलोचना गर्दै आएका थिए । गएको फेब्रुअरीसम्मको तथ्यांक हेर्दा भारतमा यो २४० मिलियन पटक डाउनलोड गरिएको पाइएको छ । जनवरीमा मात्रै ३० मिलियन भारतीयले यसलाई इन्स्टल्ड गरेको पाइएको थियो । यो अघिल्लो वर्षको सोही अवधीको तुलनामा १२ गुणा बढी हो । बाइटेडेन्सले गएको हप्ता भारतीय अदालतको आदेशलाई चुनौति दिँदै यो कदमले भारतमा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने दाबी गरेको थियो । माथिल्लो अदालतले पनि सो मुद्दालाई स्थानीय तर्फ नै फर्काएको छ । सो कम्पनीका तर्फबाट मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएर सो प्रकरण होल्डमा राख्न आग्रह गरिएको भएपनि अदालतले अस्वीकार गरेको थियो । टिकटकले शुरुमा भारतको न्यायप्रणालीमा आफ्नो विश्वास रहेको जनाएको थियो । सो कम्पनीले भारतमा करिब २५० जना मानिसलाई रोजगारीपनि दिएको छ ।