नेपाललाई शिक्षा र स्वास्थ्यमा अन्तर्राष्ट्रिय हव बनाउने अठोट गरौँ ः उमेश श्रेष्ठ

प्रकाशित मिति:

काठमाडौँ । सांसद तथा नीजि क्याम्पसहरुको संस्था उच्च मावि संघ (हिसान)का पुर्व अध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक विद्यालयहरु राम्रो भएमा नीजि विद्यालयहरुको आवश्यकता नपर्ने बताउनु भएको छ । नेपालको नयाँ संविधानमा शिक्षा र स्वास्थ्यको संपूर्ण दायित्व राज्यले लिनु पर्ने व्यवस्था गरिएकाले सार्वजनिक विद्यालयहरुलाई गुणस्तरयुक्त बनाएर सवै निजि विद्यालयहरुलाई रुपान्तरण गर्नुपर्ने उहाँको भनाई छ । सार्वजनिक विद्यालयहरु आम नागरिकले चाहेको जस्तो र विश्वासीलो भएमा नीजि विद्यालयमा कोही पनि नजाने र निजि विद्यालयहरु आफै विस्थापित हुने उहाँले बताउनुभयो। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै शिक्षाविद् श्रेष्ठले भन्नुभयो, “सार्वजनिक विद्यालयले जनताको मन नजित्दासम्म नीजि विद्यालयहरुको आवश्यकता परिरहन्छ ।”

सरकारले सार्वजनिक विद्यालयहरुमा लगानी बढाउन, व्यवस्थापन सुधार्न र अविभावकको मन जित्न नसकेकाले नीजि विद्यालयहरुको आवश्यकता परेको उहाँको भनाई छ । सरकारले सार्वजनिक विद्यालयहरु सुधारेर निःशुल्क पढाउना साथ नीजि विद्यालयहरुमा शुलक तिरेर पढाउन को जान्छ र भनेर उहाँले प्रतिप्रश्न गर्नुभयो । लामो समय शिक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा शिक्षा क्षेत्रको नीतिगत सुधारका लागि आफु सांसद भएको उल्लेख गर्दै काँग्रेस सांसद श्रेष्ठले शिक्षा र स्वास्थ्यका लागि नेपाललाई अन्तर्राष्ट्रिय हव बनाउनु पर्ने धारणा राख्नुभयो । अहिले चलिरहेका नीजि विद्यालयहरु मध्ये केही अपवाद बाहेक अधिकांशले लगानी अनुसारको न्युन शुल्कमै पढाएको दावी गर्दै उहाँले त्यसलाई अझै सेवामुलक बनाउदै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले सरकारी विद्यालयमा हरेक शिक्षक र विद्यार्थीका लागि भएको लगानी भन्दै धेर कम लगानीमा नीजि विद्यालयहरुले धेरै गुणस्तर शिक्षा दिएको बताउनुभयो । राज्यले शिक्षालाई पहिलो प्राथमिकतामा नपर्दा सम्म देशको समग्र विकास हुनै नसक्ने नेता श्रेष्ठको भनाई छ ।