बिबिसी/ पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । घुस लिएको आरोप लागेका उनलाई सोही आरोपमा पुलिसले पक्राउ गर्न जाँदा उनले आत्महत्या गरेको बुझिएको छ । गार्सियालाई राजधानी लिमाको अस्पताल पुर्याइएको थियो । उनको मृत्युको पुष्टि पेरुका वर्तमान राष्ट्रपति मार्टिन विजकारले गरेका छन् ।
गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओेदेब्रक्तसँग घुस लिएको आरोप छ जसलाई उनले अस्विकार गरेका थिए । यी आरोपपछि अधिकारी उनलाई पक्राउ गर्नका लागि उनको घर पुगेका थिए ।
गृहमन्त्री कार्लोस मोरनले पत्रकारसँगको कुराकानीमा पुलिस त्यहाँ पुग्दा गार्सियाले एउटा फोन गर्न अनुमती माग्दै आफ्नो कोठामा गए र भित्रबाट चुकुल लगाए ।
मोरनले भने, ‘त्यसको केही बेरमै गोली चलेको आवाज आयो । पुलिसले धोका फुटाएर भित्र जाँदा गार्सिया कुर्सीमा बसेका थिए र उनको टाउकोमा गोली लागेको थियो ।’
त्यसपछि गार्सियालाई लिमाको केसिमिरो उलोओ अस्पताल पुर्याइयो तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।राष्ट्रपति विजकारले ट्वीट गर्दै पूर्व राष्ट्रपतिको मृत्युले आफूलाई धक्का लागेको बताउँदै उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।गार्सियाले सन् १९८५ देखि १९९० सम्म र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हाले ।
अनुसन्धानकर्ताका अनुसार उनले आफ्नो दोस्रो कार्यकालमा आदेब्रक्तसँग घुस लिएका थिए । यो परियोजना राजधानीमा मेट्रो लाइन निर्माणसँग जोडिएको थियो ।