मतदानकै क्रममा भारतमा एकजनाको मृत्यु

प्रकाशित मिति:

नयाँ दिल्ली – भारतमा लोकसभाका लागि आज भएको दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु भएको छ । इरोड जिल्लामा एक मतदाताको मृत्यु भएको हो । ६३ वर्षीय ती व्यक्तिको मुरुगेसनमा रहेको मतदान केन्द्रमा बेहोस भएका थिए । पछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

आज भारतमा भइरहेको मतदान देशका १२ राज्य, १ केन्द्र शासित प्रदेश समेत जम्मा ९६ सिटका लागि हो । यो चरणमा आसाम, विहार, छत्तीसगढ, जम्मु—काश्मिर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पण्डुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भइरहेको छ ।

तमिलनाडुको भेल्लोर क्षेत्रमा पनि आज चुनाव हुने कार्यक्रम रहेकोमा निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपतिले त्यहाँको चुनाव स्थगन गरेका छन् ।डीएमकेका नेताको निवासमा ठूलो परिमाणमा नगद फेला परेपछि आयोगको सिफारिसमा त्यहाँको निर्वाचन स्थगन गरिएको हो । निर्वाचन ७ चरणमा पूरा हुने कार्यक्रम रहेको छ । मतगणना सबै चरणको निर्वाचन सकिएपछि २३ मे का दिन हुने बीबीसीले जनाएको छ ।