अन्तत: बाहिरियो नेपाल, युएईविरुद्धको खेलमा वर्षा नै बाधक

प्रकाशित मिति:

काठमाडौं – कुवेतविरुद्ध पनि नेपालले सानदार प्रदर्शन गरेपछि नेपाल प्रतियोगितामा युएइ बाहेक टिमसँग अपराजित रह्यो। तर नेपाललाई प्रतियोगिताबाट बाहिरिनका लागि युएइविरुद्धको वर्षा नै पर्याप्त बन्यो। वर्षाका कारण युएइविरुद्धको खेलमा नेपाल १ रनले पराजित भएको थियो। कुवेतविरुद्ध ओपनर पवन सरार्फ र रित गौतमले अर्ध शतक प्रहार गरेपछि आइसिसी यू १९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्‍याे तर युएइ अपराजित रहँदै शीर्ष स्थानमा रहेर अर्को वर्ष हुने विश्वकपमा छनोट भयो। आजै भएको अर्को खेलमा यूएइले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपना पुरा हुन सकेन। यूएई पाँच खेलमा पाँच ओटामानै जित निकाल्दै विश्वकपको लागि छनोट भयो।

१५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा १६० रन बनाउँदै सहज रुपमा लक्ष्य पूरा गर्‍याे। नेपालको सहज जितमा ओपनर रित गौतमले ८४ बलमा ७ चौकासहित ६२ रनमा आउट भए। त्यस्तै अर्का ओपनर पवन सरार्फले ६१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५३ रनको योगदान दिए। पहिलो विकेटका लागि सरार्फ रगौतमले १९.२ ओभरमा ९३ रनको साझेदारी गर्दै सहज जिततर्फ टिमलाई अघि बढाएका थिए। चौका हान्दै खेल फिनिसङ गरेका आशिफ शेखले २० बलमा ५ चौका र १ छक्कासहित ३३ र सन्दिप जोरा ५ रनमा अविजित रहे।

त्यस अघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो। उसका लागि नोमन बुद्रोले अर्ध शतकीय इनिङ्स खेले। नेपाली बलरको डटेर सामना गरेका उनले अन्तिम विकेटका रुपमा रन आउट हुनु अघि १२० बलमा ८ चौकासहित ७० रनको योगदान दिए। तर उनको पारी टिमलाई जिताउन पर्याप्त बनेन्। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। कुशल मल्ल, राशिद खान र सूर्य तामाङको नाममा समान २ विकेट रह्यो।