शैक्षिक गुणस्तर सुधार्न मेदिनी– शान्ति नमूना सहकार्य

५ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
208 Shares


सबलपोष्ट,बुटवल तिलोत्तमा नगरपालिकाका वडा नंं ६ बाह्र नम्बरमा रहेको मेदिनी आधारभुत बिद्यालय र मणिग्रामस्थित शान्ति नमूना माध्यमिक बिद्यालय बीच सहकार्य हुने भएको छ । खासगरी मेदिनी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउन शान्ति नमूनासंग सहकार्य गरिने भएको हो ।

दुबै विद्यालय ब्यवस्थापन समितिको बैठक बसेर शैक्षिक सुधारका निम्ति सहकार्य गरेर अगाडि बढने निर्णय भएको मेदिनी आधारभुत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतप्रसाद पौडेलले जानकारी दिए । शान्ति नमूनासंगको सहकार्यपछि यसै शैक्षिक सत्रदेखि विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइने, अतिरिक्त क्रियाकलापहरु,खेलकुद प्रतियोगिताहरु संयुक्तरुपमा आयोजना गर्ने, मेदिनीका शिक्षक–शिक्षिकालाई शान्ति नमूनाका शिक्षकले शैक्षिक तालिमहरु दिने लगायतका विषयमा सहमति भएको शान्ति नमूनाका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले बताए ।

शान्ति नमूना रुपन्देहीको मात्र नभई देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरु मध्येको एक हो । शान्ति नमूनासंगको सहकार्यपछि अब मेदिनीको शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । मेदिनीमा हाल करिब ७५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा यही शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्ने र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि के के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न यही बैशाख ११ गते बुधबार बिहान ११ बजे मेदिनी बिद्यालयको प्राङ्गणमा अभिभावक साथै समाजसेवी,शिक्षाप्रेमी महानुभावहरुको बृहद भेला आयोजना गरिएको मेदिनी आधारभूत विद्यालयका अध्यक्ष पौडेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया