प्रधानमन्त्री ओली बुटवल र कावासोती आउदै

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागि हुन जाने भएका छन् । उनी चौधरी ग्राम परिसरमा निर्मित शाश्वतधाम अवलोकन गरी काठमाडौं फर्किने छन् ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ ।तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्नेछन् ।वि।सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । नेपाली फौजसँग लडाइँ हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकाले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ ।

सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधनसमेत गर्नेछन् ।यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले नवलपुरको कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री ओली शिलन्यासका लागि कावासोती आउने कार्यक्रम तय भएको प्रतिनिधि सभा सदस्य तिलक महतले जानकारी दिए ।प्रधानमन्त्री ओली चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधाम अवलोकन गरेर काठमाडौं र्फकने उनको सचिवालयले जनाएको छ ।