२८ बालकको बिहारबाट उद्धार

प्रकाशित मिति:

गौशाला– महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ। चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी सहरको विभिन्न बाल आश्रममा भेटिएका थिए। उनीहरूलाई शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

ती बालक गत चैत १४ गते भारतको बिहारस्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका थिए। सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमानाका भिट्ठामोडमा नेपाललाई हस्तान्तरण गरेको प्रजिअ ढकालले बताए। चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो।

१५ देखि १७ वर्ष उमेरका ती बालकमध्ये दलित समुदायका २३, चार जना यादव र एक जना मुस्लिम समुदायको रहेका छन्। बाल कल्याण समितिले ती बालकलाई जनकपुर लगेको छ। चार वटै जिल्लाका अभिभावकलाई जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिश लिएर आएमा अभिभावकलाई जिम्मा लगाइने प्रजिअ ढकालले बताए। -नेपाललाइभ