कविता : एउटी पराई

प्रकाशित मिति:

सुनिता बस्नेत

हाउभाउले नै तिमीलाई आफुतिर तान्ने
शरिरका अंगहरुले पनि परम आनन्द दिने
चाहनाको तरंगमा बास बस्ने एउटी पराइ
आत्मसम्मान लुटिएकी बदनाम आइमाइ

फूलको ओंठै हेरेर तिमी त्यसै रसाइ दिने
जुनको अाँखै हेरेर तिमी त्यसै मदहोश हुने
वासनाको नशामा स्वास भर्ने एउटी पराइ
मनको जुन धमिलिएकी बदनाम आइमाइ

मदहोसी मा मनको सिंहासनकी प्यारी रानी
यथार्थमा भने आँखाहरुमा भरिदिने पानी
काउकुतीमा मात्रै लुकामारी गर्ने एउटी पराइ
भावनाको गला घोटिएकी बदनाम आइमाइ

अंगहरुको भाउ बढि मनको चरी रुँदा पनि
नांगो नाच नाची रहने खोला मै डुब्दा पनि
सुख्खा खडेरीको कुवा जस्ती एउटी पराइ
अपुरो चाह पुरा गरीदिने बदनाम आइमाइ