सैनामैनामा आंखा उपचार सेवा शुरु

प्रकाशित मिति:

सैनामैना-सैनामैना नगरपालिकाको मुर्गियामा प्राथमिक आंखा उपचार सेवा केन्द्र शुरु भएको छ । सैनामैना नगरपालिकाको पहलमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्था अन्तर्गतको रण अम्बिका शाह आंखा अस्पताल भैरहवाले मुर्गियामा आंखा उपचार सेवा शुरु गरेको हो ।

सेवा केन्द्रको शनिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले सैनामैना नगरपालिकाले नगरवासीलाई आंखाको प्राथमिक उपचारका लागि अन्यत्र धाउनुपर्ने वाध्यताको अन्त्य गराएकामा प्रशंसा गर्दै प्रदेश सरकारले प्रदेशभरिका जनतालाई दृष्टिविहीन भएर बांच्नुपर्ने वाध्यताको अन्त्य गर्न लागिपरेको बताए । उनले स्वास्थयको षेत्रमा धेरै काम गर्न बांकी रहेको भन्दै स्थानीय,प्रदेश र संघीय तीनै तहका सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएर वजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा रणअम्बिका शाह आंखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष सागरप्रताप राणाले आफूहरुले नगरपालिको सहयोग भएमा भविष्यमा सैनामैनामा छुट्टै भवन बनाएर आंखाको अप्रेसन सहितका सम्पूर्ण सेवा उपलब्ध गराउन तयार रहेको बताए । कार्यक्रममा प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठ,सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी,डा. नन्दा गुरुङ लगायतले बोल्दै सैनामैनामा आंखा उपचार सेवा केन्द्र स्थापनाले नगरवासी लाभान्वित हुने धारणा राखे । सो अवसरमा मेरुदण्ड वचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा निःशुल्क आंखा उपचार शिविर समेत संचालन गरिएको थियो ।