झुक्किएर अर्कै पार्टीलाई भोट दिएपछि मतदाताले आफ्नै औँला छिनाए…

प्रकाशित मिति:

बीबीसी – भारतमा भइरहेको निर्वाचनमा एक मतदाताले आफूले समर्थन गरेको पार्टीलाई नभएर गल्तीले अर्कै पार्टीलाई भोट दिएको थाहा पाएपछि आफ्नै चोरी औँला छिनालेका छन् । पवन कुमारका अनुसार उनले झुक्किएर मोदीको भारतीय जनता पार्टीलाई मत दिएका थिए जबकी उनी आफ्नो क्षेत्रीय पार्टीलाई भोट दिन चाहन्थे । यस्तोमा भोटिङ मेसिनमा रहेका धेरै चिन्हका कारण आफू अलमल्ल परेकाले यस्तो गल्ती भएको उनको भनाइ छ । अहिले यो घटनाको भिडियो भारतमा भाइरल भइरहेको छ । प्रत्येक मतदाताले भोट दिएपछि तिनको चोरी औँलामा नमेटिने मसी लागेको हुन्छ त्यसैले पनि आफ्नो गल्तीप्रति आक्रोशित भएर उनले आफ्नो औँला नै छिनालेको बताइएको छ । उनले बिहीबार उत्तर प्रदेशको बुलन्द सहरबाट मत खसालेका थिए ।

भाइरल भएको भिडियोमा उनले भनेका छन्, “म हात्तीलाई भोट गर्न चाहन्थेँ तर गल्तीले कमलमा पर्यो ।” कमलको फुल भाजपाको चिन्ह हो भने हात्ती यसको विरुद्धमा रहेको बहुजन समाज पार्टीको चिन्ह हो । यसरी बिहीबारको निर्वाचन भारतका शक्तिशाली क्षेत्रीय पार्टीहरुका लागि धेरै महत्वपूर्ण रहेको थियो । यस निर्वाचनमा भारतका ९० करोड योग्य मतदाताहरु रहेका छन् जसकारण पनि यसलाई विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो चुनाव मानिएको छ ।