के साच्चिकै नेकपाको पूर्ण एकता होला त सोमबार नै ?

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को थाँतीमा रहेको पूर्ण एकता प्रक्रिया सोमबार (बैशाख ९ गते) नै हुने गरी नेताहरु लागिरहेका छन् । अहिलेसम्म नभएको चमत्कार अब एक दिनमै कसरी होला त भनी नेकपाकै दोस्रो तहका नेताहरुले भनिरहेका छन् । र पनि झण्डै एक वर्षदेखि थाँतीमा रहेको विषयले टुंगो पाउँछ भन्ने विश्वासमा नेताहरु लागिरहेका छन् । एकताका बाँकी प्रक्रिया सोमबार नै टुंगो लगाएर फेरि चर्का भाषण गरेर तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच दरिलो गाँठो बनाउन नेताहरु लागिरहेका छन् । विगत दुई हप्तादेखि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पौडेल एकताका लागि भिडिरहेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार सचिवालय बैठक बस्न सक्नेछ । यही बैठकबाटै एकताको पूरा प्रक्रिया टुंगिन सक्नेछ । त्यसअघि फेरि अध्यक्षद्धय र केही नेताहरु बालुवाटरमा बसेर बाँकी सहमतिमा अप्ठेरा बाटाहरुलाई हटाउने बुझिएको छ ।

माधव नेपालले समानान्तर समिति गठन गरिरहेको चर्चा कायमै रहँदा उनले पनि स्थानीय तहमा आफ्नो गुटको दरिलो उपस्थिति खोजेको देखिएको छ । अहिलेलाई सानातिना स्वार्थलाई थाँतीमा राखेर काम गर्नुपर्ने बेला आएको नेताहरुले बताएका छन् । पार्टी स्थापना दिवसकै अवसर पारेर सोमबार एकताको बिगुल फुक्ने योजनामा नेताहरु रहेका छन् । लामो समयदेखि एकता प्रक्रियाको बाँकी काम अल्झिँदा सरकार सञ्चालनमा समेत सकारात्मक प्रभाव नदेखिएपछि शीर्ष नेताहरूले पार्टी स्थापना दिवसमै टुंग्याउने गरी लगातार निर्णायक गृहकार्य गर्दै आएका हुन् ।

सचिवालय बैठकमा पार्टी एकताको मात्र चर्चा भयो भने एकता सम्भव हुने पनि देखिन्छ । तर सार्वजनिक जग्गा खरिद प्रकरणमा मुछिएका महासचिव पौडेलको विषयमा चर्चा भए फेरि प्रक्रिया लम्बिने देखिन्छ । गत वर्षको जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भए पनि हरेक तहमा एकता हुन सकेको छैन । पूर्ण एकता भएको उद्घोष गरिए पनि गुट उपगुट भने झ्याँगिने निश्चित छ । यसलाई लोकतन्त्रको सौन्दर्य भनी चर्चा गर्नेहरु पनि छन् ।