भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने कतारको भनाई

प्रकाशित मिति:

काठमाडौं– कामदार कतार पुगेपछि हुने स्वास्थ्य परीक्षण, करार सम्झौता लगायतका प्रक्रिया नेपालमै गर्न कतारले खोल्न लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने कतार सरकारले प्रस्ट पारेको छ। भिसा सेन्टर खोल्ने विषयलाई दुई देशबीच हुन लागेको श्रम सम्झौता पुनरावलोकनदेखि सिण्डिकेटसम्म जोडेर विभिन्न प्रचार हुन थालेपछि भिसा सेन्टरको विषयमा कतारले दोस्रो पटक पत्रमार्फत प्रस्ट पारेको हो।

कतारको आन्तरिक मामिला मन्त्रालयले नेपालमा स्थापना हुन लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयलाई ७ अप्रिल २०१९ मा पत्र पठाएको परराष्ट्र स्रोतले जनाएको छ। ‘सबै शुल्क रोजगारदाताले व्यहोर्ने छ। कुनै शीर्षकमा पनि कामदारले पैसा तिर्नु पर्दैन’, परराष्ट्रमा प्राप्त पत्रमा भनिएको छ। भिसा सेन्टरकै विषयमा जानकारी गराउँदै कतारले यसअघि जनवरीमा परराष्ट्रलाई पत्र लेखेको थियो। तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिण्डिकेट र कामदारमाथि आर्थिक भार पर्ने आशंकासहित भिसा सेन्टर खोल्न दिन अस्वीकार गरेपछि महिनौंअघि नेपालमा खुल्ने भनिएको भिसा सेन्टर खुल्न सकेको छैन। सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्न दुई देशका अधिकारीबीच अघिल्लो महिना कतारमा छलफल भएको थियो। श्रम सम्झौता पुनरावलोकन गर्न कतार नेपाली पक्षको मागमा तयार भए पनि कतारी पक्षले राखेको भिसा सेन्टर स्थापनाको मागमा नेपाली पक्षले असहमति राखेपछि कतारी पक्ष असन्तुष्ट देखिएको छ।

विभिन्न देशमा स्थापना भएका भिसा सेन्टर ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट कामदारमाथि आर्थिक भार पर्ने कुनै पनि संस्था खुल्न नदिने पक्षमा छन्। ‘श्रम सम्झौता पुनरावलोकन गर्दै त्यहीँ भित्रै भिसा सेन्टरलाई पनि एउटा बुँदामा समावेश गरिए भिसा सेन्टर खोल्न दिन हामीलाई कुनै आपत्ति छैन। तर भिसा सेन्टर मात्र छुट्टै खुल्ने विषयमा मन्त्रालयले सहमति दिन सक्दैन’, मन्त्री विष्टले भने। कामदारले गर्ने बायोमेट्रिक औंठा छाप, स्वास्थ्य परीक्षण, सेवा सुविधा सम्बन्धी करार सम्झौता लगायातका काम कामदार लिँदै आएका स्रोत मुलुकबाटै गर्ने भन्दै कतारले नेपालसहित ८ देशमा भिसा सेन्टर खोल्ने निर्णय गरेको छ। कतारले नेपालसहित कामदार लिँदै आएका श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानमा भिसा सेन्टर स्थापना भइसकेका छन्। तर नेपाली कामदारप्रति लचिलो बन्दै भिसा सेन्टरमा कुनै शुल्क कामदारले तिर्नु नपर्ने जानकारी कतारले पटकपटक गराए पनि नेपाली पक्षले शुल्ककै विषयमा अनावश्यक अडान राखेको भन्दै कतार नेपाली पक्षसँग असन्तुष्ट रहेको एक कतारी अधिकारीले बताए।हामीले पटक पटक कामदारले पैसा तिर्नु पर्दैन भनेका छौं, तर पनि उहाँहरुको चासो हरेक पल्ट पैसामै हुने गरेको छ। यदि उहाँहरुलाई भिसा सेन्टरमा कामदारसँग लिइन्छ भन्नेमा संशय हो भने कामदारसँग पैसा लिएको पाइए आजैका मितिदेखि यो संस्था खारेज हुनेछ भनेर सम्झौतामै उल्लेख गरौँ न। तर हामीले यति आश्वस्त पार्दा पनि श्रम मन्त्रालय मान्दै भने यहाँ खोल्ने भिसा सेन्टर हामी बरु भारतको अर्को ठाउँमा खोल्छौं’, उनले भने।

ती अधिकारीका अनुसार नियमित रुपमा हुने प्रक्रियामा कामदारले कुनै शुल्क तिर्नु पर्दैन। ‘लाइनमा बसेर आफ्नो पालो कुर्ने कोहीसँग पनि भिसा सेन्टरले पैसा लिँदैन। तर यदि कोही म पालो पर्खिन्न, तुरुन्त सेवा चाहियो भन्छ भने त्यस्तो अवस्थामा मात्र पैसा तिर्नुपर्छ। यस्तो नियम त नेपाल सरकारले राहदानी बनाउनेको हकमा पनि लागु गरेको छ’, उनले थपे। नागरीकन्युजवाट साभार