पत्रकारितामा शुद्धिकरण आवश्यक

प्रकाशित मिति:

पत्रकारितामा हाँस्यरस मार्फत समाज परिवर्तनको अभियानमा होमिएका ज्योति कुमार श्रेष्ठ यतिबेला अमेरिकामा बसेर संचारकर्म गरिरहेका छन् । धरानमा जन्मिएका चर्चित हास्य व्याङ्ग्य अनलाईन पोर्टल ‘टुटुल्को’ का प्रधानसम्पादक रहेका उनी कुनै समय नेपाल मै ‘टुटुल्को’ मासिक पत्रिका प्रकाशन गर्थे । पत्रकारितामा शुद्धिकरणको आवश्यकता देख्ने श्रेष्ठले सबल नेपाल साप्ताहिक र सबल पोष्ट डट कमका लागि कुराकानी गरेकाछन् ।

यहाँ पत्रकारितामा कसरी आउनु भयो ?

पत्रकारिता भन्दा पनि संचारकर्म भन्न रुचाउँछु म । ४० सालमा कलेज पढ्दै गर्दा, घर नजिकै पुस्तकालय थियो, त्यसबेलाका पत्रपत्रिका खुब पढिन्थ्यो । केही स्थानीय अग्रज पत्रकारहरुको संगत थियो । पत्रकार हुनु भनेको राम्रो काम गर्नु हो जस्तो लाग्दथ्यो । राजनैतिक, सामाजिक विकृति विसंगति प्रति खबरदारी गर्ने राम्रो र सजिलो माध्यम लाग्थ्यो पत्रकारिता । त्यसैले त्यहिबेला म र आनन्द श्रेष्ठ मिलेर “टुटुल्को“ हाँस्यव्यंग्य मासिक प्रकाशन शुरु गर्यौ ।

पत्रकारितामा चुनौती के देख्नुहुन्छ ?

अहिले छापा पत्रकारिता भन्दा अनलाईन पत्रकारिताहरु बढेको छ । चुनौती भन्दा पनि नैतिकता विश्वसनीयता र निष्ठा आवश्यक हुन्छ संचारकर्ममा । सत्य र प्रामाणिक कुरा, जानकारी र खोजमुलक समाचारका साथै समाजपयोगी हुनुपर्छ पत्रकारिता । सत्य कुरा निडर भएर लेख्दा, बोल्दा असन्तुष्ट पक्षबाट बिभिन्न खालका धम्की र खाल्डोमा पार्नसक्ने प्रलोभनका प्रस्तावहरु आउन सक्छ ।

तपाईको विचारमा पत्रकारितामा विकृती छन् ?

छन् । पैसा नलिई समाचारै नछाप्ने, पैसा पाएपछि मालिकलाई खुसी पार्न जे पनि लेखिदिने, बोलिदिने । पैसा नपाए वा अरु कुनै रिसमा चरित्र हत्या गर्नपनि पछि नपर्नेहरु पनि छन् पत्रकारितामा । पाठक तथा दर्शक बढाउन समाचारलाई तोडमरोड गरेर सनसनीपुर्ण बनाउन खोज्ने, कुरै नबुझी आफु अगाडि देखापर्न पुष्टि नभएको समाचार छाप्न हतारिने, कतिपय दम्भी पत्रकारहरु आफु बाहेक अरुलाई गन्दै नगन्ने, बरु छिर्के लगाउन खोज्ने जस्ता विकृतिहरु छन् ।

पत्रकार र संचारमाध्यम सधै सत्तापक्षको तारोमा पर्दछन् । कारण के हो ?

सरकार वा सत्तापक्षको भजन गाउनेहरुलाई त पालेरै राख्छन् उनीहरु । तर गल्ति औलाईदिने र खबरदारी गर्नेहरुलाई देखिसहन्नन् । जबसम्म सरकार र नेताहरु ईमान्दार हुदैनन्, आफुलाई मत दिने जनता प्रति जिम्मेवार र चिन्तित हुदैनन् । जबसम्म बिगतका संघर्षका दिनहरु बिर्सिएर सत्ता, शक्ति, र पैसाको लोभमा निर्लिप्त रमाउन खोज्छन् तबसम्म उनिहरु सामन्त भन्दा कम हुदैनन् र आफुलाई खबरदारी गर्नेहरुलाई तारो बनाउँछन् । तन्त्र फेरिएर मात्र के हुन्छ विचार सोंच नै फेर्न नसकेपछि !

पत्रकारिताका प्रभाव र के्रेज के घट्दै गएको हो ?

छैन छैन । बरु बढ्दै गएको पो छ त !

लेख्दा कत्तिको थ्रेट आउछ ? अनुभव के छ नि तपाईंको ?

अहिलेसम्म ’थ्रेट’ आएको त छैन । तर रिसाउनेहरु छन् । फेसबुकमा ’ब्लक’ गर्नेहरु छन् ।

यसरी यहाँले पत्रकारिता गर्दा यो पेशाबाट तपाईले पाएको र गुमाएको के छ ?

पाएको आत्मसन्तुष्टि हो । किनकी, म सामुदायिक संचारकर्म गर्ने हुनाले यो काम गर्न एकदमै मज्जा लाग्छ । धेरैले, मलाई चिन्ने र मेरो काम देख्नेहरुले, “तपाईले राम्रो काम गरिरहनु भएको छ“ भन्नुहुन्छ, त्यसलाई मैले पाएको वा कमाएको भन्ठान्छु । गुमाएको चाहि अमेरिका जस्तो देशमा बसेर घण्टा हानेर डलर कमाउन छोडेर यो काममा तल्लिन भएको छु, त्यसैले केह,(केही डलर गुमाए हुँला ! हा हा हा!!! तर अफसोच छैन ।

तपाईलाई कुन विधा (बिट) मा कलम चलाउन मन पर्छ ?
मलाई सामाजिक र राजनैतिक विकृति, विसंगति उपर रोचकघोचक शैलीमा व्यंग्य र खबरदारी गर्न मनलाग्छ । र, लुकेर बसेका समाजपयोगी मान्छेहरुलाई उजागर (हाईलाईट) गर्न मनलाग्छ । र, समुदायको हितमा आवश्यक एवं जानकारीमुलक खबरहरु फिजाउन मनलाग्छ । मलाई साहित्य संगीत बिधा पनि मनपर्छ ।

पत्रकारिता गर्न चाहने र यो पेशामा आउन चाहनेका लागि तपाईले के सुझाव दिनुहुन्छ ?

प्रथमतः पैसा कमाउने सोंचले यो पेशामा नआउनुस् भन्छु म । दोश्रो, ईमान्दार भएर लेख्न वा बोल्न सक्नुहुन्छ भने मात्र आउनुहोस् । तेश्रो, निष्पक्ष र सहिष्णु भएर नैतिकता बोकेर, कुनै(कुनैबेला कठोर भएर, र सधैभरि निडर भएर काम गर्नसक्छु भनेर आउनुहोस् भन्छु म । आएर कुनै राजनैतिक पार्टीको झण्डा र महाजनहरुको झोला नबोक्नुहोस् भन्छु म ।