श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोट हमलामा नेपाली नपरेको परराष्ट्र को भनाई

९ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कोलम्बो – श्रीलंकामा आइतबार विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी कम्तीमा दुई सय सातजनाको मृत्यु भएको छ। इस्टर पर्वका अवसरमा गिर्जाघरहरुमा आयोजित धार्मिक कार्यक्रममा सहभागी र तीनवटा लक्जरी होटलमा रहेका व्यक्तिलाई लक्षित गरी गराइएका आक्रमणमा परी चार सय ५० जनाभन्दा बढी घाइते भएका छन्।

कम्तीमा आठवटा विस्फोटन भएको समाचारमा जनाइएको छ। इसाई धर्मावलम्बी कोच्चिकाडे, बट्टिकलोआ र नेगोम्बो जिल्लामा रहेका गिर्जाघरमा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका बेला विस्फोटन गराइएको थियो। राजधानी कोलम्बोस्थित सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए। राजधानी कोलम्बो र देशको पूर्वी क्षेत्रमा रहेको बट्टिकालोआआसपास चारवटा होटल र तीनवटा गिर्जाघरमा विस्फोटन भएको अधिकारीहरुले बताएका छन्। देशमा भएका शृंखलाबद्ध विस्फोटनका घटनापछि श्रीलंकामा अर्को सूचना जारी नभएसम्मका लागि देशव्यापी कफ्र्यु घोषणा गरिएको छ। सामाजिक सञ्जाल र म्यासेजिङ सेवा पनि अस्थायी रूपमा बन्द गरिएको छ।

विस्फोटनमा संलग्न रहेको आशंकामा तीनजना पक्राउ परेको विवरण बाहिरिए पनि आक्रमण कसले गरेको थियो भन्ने विषय भने अझै प्रस्ट भइनसकेको बताइएको छ। श्रीलंकाली सरकारले सुरुमा सातजना पक्राउ परेको बताएको थियो। प्रहरीले भने अन्य कयौं पक्राउ परेको भए पनि उनीहरुसँग सोधपुछ नभएको जनाएको छ। कसले के उद्देश्यले आक्रमण गयो भन्ने विषयमा केही थाहा नभएको प्रहरीले जनाएको छ।
श्रीलंकाली रक्षामन्त्री रुवान विजेवर्दनेका अनुसार आक्रमणकारीको पहिचान भइसकेको छ। आक्रमणकारी धार्मिक अतिवादी भएको उनले बताए। उनले आइतबार बिहान भएका अधिकांश विस्फोटनमा आत्मघाती आक्रमणकारी प्रयोग भएको बताउँदै सबै आक्रमण एउटै समूहले गराएको दाबीसमेत गरे। इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा गिर्जाघरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका बेला विस्फोटन गराइएको थियो। मारिनेमा विदेशी नागरिक पनि मृत्यु हुनेमध्ये अधिकांश श्रीलंकाली नागरिक भएको अनुमान गरिए पनि अधिकारीहरुका अनुसार करिब ३० को संख्यामा विदेशी नागरिक पनि मारिएका छन्। मारिनेमा डच, पोर्चुगाली, बेलायती र चिनियाँ नागरिक पनि रहेको विवरण बाहिरिएको छ। इस्टर सन्डे आक्रमणमा मारिनेमध्ये एकजना डच नागरिक पनि रहेको डच विदेशमन्त्री स्टेफ बल्कले पुष्टि गरेका छन्। त्यसैगरी चीनको ‘पिपल्स डेली’ पनि आक्रमणमा एक चिनियाँ नागरिक मारिएको र अन्य चारजनाको अस्पतालमा उपचार भइरहेको विवरण प्रकाशित गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले पनि आफ्ना एक नागरिक आइतबारको आक्रमणमा मारिएको जनाएको छ।
टर्कीको राज्य सञ्चालित सञ्चारमाध्यम एनादोलुका अनुसार त्यहाँका दुईजना नागरिक पनि मारिएका छन्। एनादोलुका अनुसार इन्जिनियर ती टर्किस नागरिक श्रीलंकाको एउटा प्रोजेक्टमा काम गरिरहेका थिए। श्रीलंकाका राष्ट्रपति मैथ्रिपला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन अनुरोध गरेका छन्। उनले कायरतापूर्वक गरिएको आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। उनले जनतालाई शान्त रहन र अनुसन्धान अधिकारीलाई सहयोग गर्न पनि आग्रह गरेका छन्। त्यस्तै शृंखलाबद्ध विस्फोटनको घटनालाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिँदै श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले सबै नागरिकलाई ‘एकताबद्ध रहन र धैर्य गर्न’, आग्रह गरेका छन्। उनले तत्काल राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत डाकेका छन्।

विश्वभरबाट निन्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, बेलायती प्रधानमन्त्री थेरेसा मे, युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्क, युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका विश्व नेताले श्रीलंकामा गराइएको विस्फोटनको निन्दा गरेका छन् र पीडितप्रति सहानुभूति प्रकट गरेका छन्।

देशैभर कफ्र्यु
शृंखलाबद्ध बम विस्फोटनछि श्रीलंकाभर कफ्र्यु लगाइएको छ भने व्यापक मात्रामा सुरक्षा कारबाही सञ्चालन गरिएको छ। ‘हाम्रो देशमा सञ्चालन भइरहेको अतिवादी समूहविरुद्ध आवश्यक सबै कदम हामी चाल्नेछौं कफ्र्यु घोषणा गर्दै रक्षामन्त्री रुवान विजेवर्दनेले भने। बौद्धमार्गीबहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी थिए। श्रीलंकाका विभिन्न स्थानमा आइतबार भएका शृंखलाबद्ध बम विस्फोटमा कुनै पनि नेपाली नपरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यहाँका चर्च र होटेलमा भएका बम हमलामा परी करिब ३५ विदेशीको ज्यान गएको छ। तर नेपाली नागरिक भने ती घटनामा नपरेको मन्त्रालयले स्पष्ट पारेको हो। घटनापछि श्रीलंकामा भएका नेपालीको अवस्थाबारे कोलम्बोस्थित नेपाली दूतावासमा निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। बम हमलालगत्तै हामीले निरन्तर रुपमा श्रीलंकास्थित नेपाली दूतावासमा सम्पर्क गरिरहेका छौं, हालसम्म कुनै नेपाली घटनामा परेको जानकारी छैन,’ मन्त्रालयका एक अधिकारीले भने।

नेपालका लागि पाठ
श्रीलंकामा भएको बम हमलाबाट नेपालले पनि पाठ सिक्नुपर्ने विज्ञ बताउँछन्। धार्मिक उन्माद र अतिवाद यस क्षेत्रको राजनीतिसँग पनि निकट भएकाले नेपाल पनि यस्ता घटनाबाट सचेत हुनुपर्ने क्षेत्रीय मामिला विज्ञ निश्चलनाथ पाण्डे बताउँछन्। पछिल्लो समय नेपालमा पनि धार्मिक मुद्दाले जटिल रुप धारणा गर्दै गइरहेका बेला श्रीलंकाको घटनाबाट पाठ सिक्नुपर्ने उनले बताए। एक दशकको द्वन्द्वपछि शान्तिप्रक्रियमा आएको नेपालले संक्रमणकालीन न्याय राम्रोसँग सम्बोधन गर्न नसके फेरि अशान्ति हुन सक्नेतर्फ सरकार चनाखो हुनुपर्ने उनी बताउँछन्।

‘आतंककारी हमला’
श्रीलंकाका चर्च तथा होटेलमा गरिएको श्रृंखलाबद्ध बम हमलाबाट भएको जनधनको क्षतिप्रति नेपालले दुःख व्यक्त गरेको छ। नेपालले श्रीलंकामा भएको आतंककारी हमलाको कडा निन्दा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीखे श्रीलंकाली समकक्षी मैत्रीपाल श्रीसेना तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री रनिल बिक्रमसिंगेलाई छुट्टाछुट्टै शोक सन्देश पठाउँदै आतंककारी हमलाको कडा निन्दा गरेका हुन्। उक्त घटना मानवता विरोधी अपराध भएको जनाउँदै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको सन्देशमा सबै किसिमका आतंकवादी घटनाको नेपालले भत्र्सना गर्ने उल्लेख छ। सन्देशमार्फत शोकाकुल परिवारजनप्रति पनि गहिरो समवेदना व्यक्त गरिएको छ। प्रधानमन्त्री ओलीले यस दुःखको घडीमा नेपाल श्रीलंकाली जनताको पक्षमा रहेको जनाउँदै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसैबीच प्रधानमन्त्री ओलीले श्रीलंकाका प्रधानमन्त्री बिक्रमसिंगेलाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गरेका छन्। श्रीलंकामा भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन्। देउवाले विज्ञप्तिमार्फत विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका आतंककारी घटनाको नेपाली कांग्रेसले  घोर निन्दा र भत्र्सना गर्ने जनाएका छन्। हत्या, हिंसा र आतंक सदाका लागि अन्त्य गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहँदै आएको छ। यस दुःखद क्षणमा म र मेरो पार्टीको तर्फबाट श्रीलंकाली सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्छु। साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्छु।’ देउवाले हमलामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग