कविता: “तन्नेरी घाम र साकुरा”

प्रकाशित मिति:

– ज्योतिकुमार श्रेष्ठ,न्यूयोर्क ।

      कवि

धेरै दिन पछि
तन्नेरी घाम उत्ताउलो भएर
मेरो शरीर स्पर्श गरिरहेछ
न म रोक्न सक्छु घामलाई
न त रोक्न चाहन्छु नै
बरु ठिड्०ग उभिएको मेरो ढांड र छातिमा
केहीबेर पोल्नेगरी टाँसिए हुन्थ्यो
किनकी, घामसंग समाहित हुनुको मिठो स्वादमा
एकैछिन भएपनि डुब्न चाहन्छु म
धेरैपछि लागेको यो न्यानो घामले
विभिन्न रंगहरुमा म साकुराको बैंश फुलाई रहेछ
हो, म साकुरा हुँ
हेरीरहन्छु थाहा नपाउने गरी
एक्लो बैंशालु कर्के नजरले
त्यो रापिलो घामलाई
निडर घाम, उ पनि एकतमासले हेरिरहन्छ मलाई
मसक्क मस्किन्छु म खै के-के सोंचेर
भित्रै सम्म काउकुती लाग्छ मलाई
केही बेरपछि परेको पानीले
निथ्रुक्क भिज्छु म
आकाश खुल्ला हुदै
समाहित हुन्छ मेरो हर भावनामा
पारी क्षितिजमा ईन्द्रेणी देखापर्छ सातै रंगमा
म आभास गर्दैछु यतिखेर
साच्चै प्रकृति कति सुन्दर छ
प्रेम कति मोहक छ
अनि त्यो ईन्द्रेणी…
आहा !
जिन्दगी ईन्द्रेणी हो बाँच्न जान्नेहरुलाई
जिन्दगी प्रकृति हो हाँस्न जान्नेहरुलाई ।

(फोटो: ज्योतिकुमार श्रेष्ठ)