आज लोकतन्त्र दिवस

प्रकाशित मिति:

काठमाडौं -२०६२र२०६३ को जनआन्दोलनमार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएको दिनका रुपमा लोकतन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। १९ दिने जनआन्दोलनको सम्झानामा लोकतन्त्र दिवस औपचारिक रुपमा मनाउँने गरिएको छ।

एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघीय संरचनामा जाने आधार कोरेको जनआन्दोलनको स्मरण भने पछिल्ला वर्षहरु फिक्का बन्दै गएको छ।सरकारले यसअघि नियमित दिँदै आएको सार्वजनिक बिदा यसपटक औपचारिक रुपमा कटौती गरेको छ । अघिल्लो वर्ष २०७२ सालमा लोकतन्त्रदिवस शनिबार परेको थियो।जनआन्दोलनको दबाबमा तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना गरेका थिए। जनप्रतिनिधिमूलक संस्था पुनस्र्थापना भएको दिनको सम्झनाका रुपमा पनि दिवस मनाइने गरिएको छ। पुनस्र्थापित प्रतिनिधिसभाको जेठ ४ गतेको २२ बुँदे घोषणापत्रले नै राजसंस्थाको औपचारिक अन्त्यको प्रस्ताव गरेको थियो। पहिलो संविधानसभाको पहिलो बैठकले उक्त प्रस्ताव पारित गरेको थियो।

एक दशक लामो यात्रामा जनताका अपेक्षित सपना पूरा नभए पनि जनआन्दोलनको जगमा निर्वाचित संविधानसभाले दोस्रो प्रयासमा संविधान जारी गरेको छ। एकात्मक शासन व्यवस्थाको अन्त्य भई मूलुक संघीय संरचनामा प्रवेश गरे पनि व्यवहारिक अनुभूति जनताले अझै गर्न सकेका छैनन्।