एक वर्षको अवधिमा चार पटक प्रदेश नं ५ को प्रदेशसभामा स्थगित

प्रकाशित मिति:

प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण विभिन्न विषयमा प्रदेशसभा स्थगन भएको प्रदेश नं ५ को सचिवालयले जनाएको छ । विसं २०७५ को असार ४, साउन १३, माघ १८ र माघ २२ गते विपक्षी नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन भएको थियो । बजेटका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलको धारणा, स्थायी राजधानीका विषयमा मुख्यमन्त्रीको जवाफ, निर्मला हत्याकाण्ड र डा गोविन्द केसीको सत्याग्रहको विषयलाई लिएर प्रदेशसभा अवरुद्ध भएको थियो । नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य डिल्ली चौधरीले प्रदेशसभा अवरुद्ध भएपछि धेरै विषय सम्वादबाट समाधान भएको उल्लेख गर्दै अझै पनि प्रदेशको अधिकार कटौतीको विषयमा संयुक्त छलफल गरिरहेको जानकारी दिए । प्रदेश नं ५ को प्रदेशसभामा अहिलेसम्म ७० वटा बैठक बसेको छ जसले ३३ वटा विधेयक पारित गरेको छ । ती बैठकमध्ये २२ पहिलो अधिवेशनमा, दोस्रो अधिवेशनमा २८ र तेस्रो अधिवेशनमा ३० बैठक प्रदेशसभाको भएको छ । विसं २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक भएको थियो ।