रेडक्रसको प्रतिकार्य कार्यक्रम हस्तान्त्रण

प्रकाशित मिति:

रामेछाप । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाद्वारा रामेछापको मन्थली नगरपालिका(१ र रामेछाप नगरपालिकाको वडा नं। (५ मा संचालित भूकम्प प्रतिकार्य कार्यक्रम विधिवत रुपमा निरन्तरता तथा दिगोपनका लागि बुधबार स्थानिय निकायलाई हस्तान्तरण भएको छ ।

रामेछाप जिल्लामा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तराष्ट्रिय महासंघको आर्थिक, प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेरेसो जिल्ला शाखा रामेछापद्वारा रामपुर र मन्थलीमा २०७२ पौष बाट पुनर्लाभ कार्यक्रम संचालनमा ल्याएको थियो ।

बुधबार मन्थलीमा आयोजित हस्तान्तरण समारोहमा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा र वडा नं. ५ का वडाध्यक्ष भीमबहादुर तामाङलाई रामपुरको र मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत तथा मन्थली नगरपालिका वडा नं. १ का वडाध्यक्ष नारायणदास श्रेष्ठलाई मन्थली १ मा भएको पुनर्लाभका कार्यहरुलाई निरन्तरता दिनेगरी सम्पूर्ण गतिविधिहरूको तथ्यांक तथा कार्यक्रमको विवरणसहितको दस्तावेज हस्तान्तरण गरिएको रेडक्रस रामेछापका कार्यक्रम संयोजक जयराम वस्नेतले बताए ।

भूकम्प २०७२को चौथो वार्षिकीको पूर्वसन्ध्यामा आयोजित पुनर्लाभका कार्यक्रम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले रेडक्रस रामेछाप अन्तर्गत भएका पुनर्लाभ कार्यक्रमबाट समुदाय एकिकृत रुपमा लाभान्वित भएको र नमुना काम भएको बताउँदै रेडक्रसले अझै तत्कालै छोड्न नहुने कुरामा जोड दिए ।

मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले स्थानिय सरकार र रेडक्रसको सहयात्रा तथा सहकार्यमा कार्य भएको र आगामी दिनमा यसको सहकार्य रहने विश्वास व्यक्त गरे ।

रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापाले कार्यक्रमले समुदायमा गरेको कार्य सरहानीय तथा समुदायलाई उत्थानशील बनाउन मद्धत पुगेको बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका दिवत कुमार श्रेष्ठले रेडक्रस सरकारको सहयोगी रहेको र रेडक्रसद्धारा संचालित कार्यक्रमले नेपाल सरकारको लक्ष्य हासिल गर्न टेवा पुगेको बताए । कार्यक्रममा नेकपाका अध्यक्ष नैन कुमार मोक्तान, नेपाली काँग्रेसका कुमार श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रभाकरलाल कर्ण, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रतिनिधि दामोदर घिमिरे लगायतले पुननिर्माणका विविध पक्षमा रेडक्रसको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले २०७२ वैशाख १२, २९ र तत्पश्चातका पराकम्पनबाट क्षति भएका जिल्लाहरुमा नेपाल रेडक्रस सोसाइटीले तत्काल आपत्कालीन सहायताका कार्यक्रम सञ्चालनमा ल्याएको र भविष्यमा विपदको सामना गर्नसक्नेगरी उत्थानशील समुदाय निर्माण तथा विपन्न र संकटासन्न समुदायलाई मानवीय सहायता पुर्याई पहिला भन्दा अझ सुरक्षित र सक्षम बनाउनु कार्यक्रमको उदेश्य तथा लक्ष्य बमोजिम रामेछापको रामपुर र मन्थीमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन र स्वास्थ्य क्षेत्रमा विविध कार्यक्रम गरेको बताए ।