रेड कर्नर नाेटिस जारी अाचार्यलार्इ नेपाल झिकाउन गृह मन्त्रालयकाे परराष्ट्र मन्त्रालयलाई पत्र

प्रकाशित मिति:

काठमाडौ । पटकपटक न्यायकाे माग गर्दै अनसन बसेकी गङ्गामाया अधिकारीका छाेरा कृष्णप्रसाद अधिकारीकाे हत्या गरेकाे आरोप लागेका रुद्र आचार्यलाई नेपाल झिकाइने भएकाे छ ।रेड कर्नर नाेटिस जारी गरिएका अाचार्यलार्इ नेपाल झिकाउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको छ ।  बेलायतले मागेकाे अाचार्यलार्इ नेपाल पठाउन अावश्यक पर्ने जवाफी पत्र र अनुरोधको व्यहोरासहितको पत्र गृह मन्त्रालयले परराष्ट्रलार्इ पठाएकाे हाे । परराष्ट्रले अावश्यक पक्रिया पूरा गरी बेलायत पठाउने तयारी गरिरहेकाे जनाइएकाे छ ।

आयरल्यान्डमा लुकेर बसिरहेकाे भनिएका आचार्यविरुद्ध नेपालले रेड कर्नर नोटिस जारी गरे पनि उनको प्रक्राउ प्रक्रिया अघि बढ्न सकेको थिएन। बेलायतले उनको विस्तृत विवरण र नेपाल पठाएपछि उनको सुरक्षा हुनुपर्ने जवाफी पत्र दुई वर्षअघि नै मागेको तर यताबाट हालसम्म नपठाइएकाे बताइन्छ ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीलाई मामाघर चितवन गएकाे बेला २०६१ सालमा हत्या गरिएको थियो । छोराको हत्यारालाई कारबाही हुनुपर्छ भन्दै उनी न्यायको खोजीमा विगत ७ वर्षदेखि अनसन बस्दै आएकी छिन् । साेही न्यायकाे माग गर्दै अनसन बस्ने क्रममा कृष्णप्रसादका बाबु नन्दप्रसाद अधिकारीको २०७१ सालमा मृत्यु भएकाे थियाे ।