बेइजिङमा नेपाली मन्त्रीको भीडभाड

प्रकाशित मिति:

बेइजिङ – दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च कुम्भमेलाका अवसरमा नेपालका चारजना मन्त्री र एकजना मुख्यमन्त्री एकैचोटी बेइजिङमा भेला भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिमण्डलमा सहभागी भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपतिसँगै विस्टन होटलमा बसेका छन्। उनीहरू राष्ट्रपति सहभागी हुने सबै कार्यक्रममा सहभागी हुनेछन्।

दुई दिन अगाडि बेइजिङ आइपुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय शिखर मञ्चको थिएमेटिक मञ्चमा भाग लिन आएका छन्। उनी आफ्नोे मन्त्रालयका एकजना सहसचिव र एकजना सहयोगीलाई साथमा लिएर बेइजिङ आइपुगेका हुन्। उनलाई चीनको यातायात मन्त्रालयले बोलाएको हो। उनले बिहीबार साँझ थिएमेटिक फोरमममा आफ्नोे भनाइ राखेको नागरिकलाई बताए। उनी बेइजिङको केन्द्रमा रहेको च्याङ्को गार्डेन होटलमा बसेका छन्।

त्यसैगरी दुई दिन अगाडि नै बेइजिङ आइपुगेका अर्का मन्त्री हुन् मात्रिका यादव। चीनको वाणिज्य मन्त्रालयको निमन्त्रणामा उनी पनि थिएमेटिक मञ्चमा भाग लिन आएका हुन्। आफ्नो मन्त्रालयका सहसचिव र एकजना सहयोगी लिएर आएका उद्योग तथा वाणिज्यमन्त्री यादवले भने मन्चमा कुनै मन्तव्य राख्नेबारेमा आफूलाई आयोजकले केही जानकारी नदिएको नागरिकलाई बताए। मन्त्री यादव पनि महासेठ बसेकै होटलमा बसेका छन्।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री थममाया थापा पनि दुई दिन अगाडि बेइजिङमा आइपुगेकी छन्। उनलाई चिनियाँ गैर सरकारी संस्थाहरुको अन्तराष्ट्रिय सञ्जालले बोलाएको हो। उनी गैरसरकारी संस्थामा कार्यरत शर्मिला कार्कीसँग आएकी छन्। मन्त्री थापा पनि शिखर मञ्चको थिमेटिक फोरममा भाग लिन आएकी हुन्। उनी वानासौं होटलमा बसेकी छन्।मन्त्रीहरू बाहेक पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि बुधबार बेलुका बेइजिङ आइपुगेका छन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा आएका हुन्। थिएमेटिक मञ्चमा भाग लिन आएका नेता नेपाल पनि वानसांै होटलमा बसेका छन्।