नेपालमा लगानीको  लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई राष्ट्रपतिको आग्रह

प्रकाशित मिति:

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायीत्वसँगै नेपालमा सकरात्मक वातावरण बनेको भन्दै लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले नेपाल–चीन ट्रेड ईकोनोमिक फोरमलाई सम्बोधन गर्दै नेपालमा ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको हो । लगानीको सुरक्षा नेपाल सरकारले गर्ने भन्दै उहाँले चिनियाँ लगानीकर्तालाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । नेपालले एकद्धार प्रणालीबाट विदेशी लगानीकर्ताको सहजीकरण गरिरहेको राष्ट्रपति भण्डारीको भनाई थियो । नेपालको कर प्रणाली उदार रहेको बताउँदै उहाँले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल पाइरहेको बताउनुभयो ।

सोही फोरमलाई सम्बोधन गर्दे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ लगानीकर्तालाई नेपालको लगानीको नीतिगत ब्यवस्था बारे जानकारी दिनुभएको थियो । फोरममा लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारी सहित नेपालका नीजि क्षेत्रका प्रतिनिधिले लगानीको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । फोरममा नेपालमा लगानीको अवसर र चुनौतीको बिषयमा चिनियाँ लगानीकर्ता तथा व्यवसायीहरुसँग छलफल भएको बेईजिङस्थित नेपाली दुतावासका डेपुटि चीफ अफ मिशन सुशिल लम्सालले जानकारी दिनुभयो । बेइजिङमा आयोजना हुने बागवानी प्रर्दशनीको उद्धघाटन सत्रमा राष्ट्रपति भण्डारी सहभागी हुनुहुनेछ भने चिनियाँ समकक्षि सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको दूतावासले जनाएको छ । राष्ट्रपति भण्डारी यही बैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ । ९ दिने राजकीय भ्रमणका लागि उहाँ गत बुधबार चीन जानु भएको थियो ।