तरुण दलले सरकारविरुद्ध देशभरि बुझायो ज्ञापन पत्र

प्रकाशित मिति:

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारको बेथितिका विरुद्ध ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

आइतबार ज्ञापन पत्र बुझाउने क्रममा राजधानीसहित देशभरिका जिल्लाहरूमा तरुण दलका नेता तथा कार्यकर्ताहरू दलबलसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । उनीहरूले देशमा कम्युनिस्टहरूका कारण भइरहेको अराजकताको अन्त्यको माग पनि गरेका थिए ।तरुण दलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले आफ्ना जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र समृद्धिको लागि कार्य गर्ने आशा गरेकोमा यसको उल्टो वर्तमान कम्युनिष्टको ओली सरकार अपराधी ढंगबाट प्रस्तुत भएको ज्ञापन पत्रमा जनाएको छ ।

राज्य तहबाटै संरक्षित भई देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अत्याचारको विरुद्ध नेपाल तरुण दल गम्भीर ढंगबाट प्रस्तुत भई जनताको संवैधानिक अधिकारको रक्षाको लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको ज्ञापन पत्रमार्फत तरुण दलले कम्युनिष्टको अधिनायकवादी सरकारलाई चेतावनी दिएको छ । गत आम निर्वाचनपछि एमाले र माओवादीको एकता भई बनेको पुरातन र घोर जडशुत्रवादी तानाशाही सरकारले नेपाली जनताको लोकतन्त्रको मूल्य र मान्यता अनुसार बाँच्न र स्वतन्त्र पेशा र व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको खिल्ली उडाउँदै गरेका घोर अकर्मण्यता एवं जनतामारा र राष्ट्रघाति कार्यहरू तत्काल बन्द गरी न्यायसंगत ढंगबाट जनताका जीवनयापन र कानूनी राज्यको अवधारणासंग गाँसिएका तपशिल बमोजिमका गम्भीर विषयहरुका बारेमा न्यायिक समाधान तत्काल खोज्न नेपाल तरुण दल यस ज्ञापन पत्र मार्फत वर्तमान सरकारको ध्यानकर्षण गराउँदछ’, ज्ञापन पत्रमा भनिएको छ ।