दादुराविरुद्ध खोप अभियान सञ्चालन हुने

प्रकाशित मिति:

काठमाडौं– सरकारले दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी मंसिर महिनाबाट संचालन हुने अभियानमा देशभरका ५ वर्षसम्मका करिब ३८ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले मंसिरदेखि माघसम्म अभियान सञ्चालन हुने जानकारी दिए।‘अभियानले दादुरा निवारण गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्नेछ, उनले भने, यसका लागि देशभरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय निकायका जनप्रतिनिधिलगायत सबैको सक्रिय सहभागिता आवश्वयक छ।’

विभागले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमा १० करोड नेपाल सरकार र २० करोड रुपैँया खोपका लागि अन्तराष्ट्रिय अलायन्स गाभीले दिने भएको छ।कार्यक्रममा कोही पनि बालबालिका दादुरा खोप लगाउनबाट बञ्चित नहुन् भनेर गाउँगाउँबाट खोजेर बालबालिकालाई खोप दिइने बताइएको छ।सरकारले सन् २०१९ मा नेपाललाई दादुरा निवारण देश बनाउने लक्ष्य लिएको छ। तर अहिलेको काम गराईले यो लक्ष्य हासिल हुन भने चुनौती देखिन्छ।पछिल्लो समय देशका विभिन्न भागमा दादुराको महामारी फैलिरहेको छ। भने संक्रमित अधिकांश बालबालिकाले दादुराको खोप नै पाएका छैनन्।दादुराबाट बच्न बच्चा ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा दिनुपर्छ।अहिले करिब ७० प्रतिशत बालबालिकासम्म दादुराविरुद्धको खोपको पहिलो मात्राको पहुँच पुगेको छ। दोस्रो मात्रा लिने बालबालिका ६७ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ। दादुराको खोप पहुँच पनि ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ।प्रत्येक १० लाख जनसंख्यामा ५ जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ।विश्वस्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली क्षेत्रमा ‍सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको छ।