स्याङ्जामा प्रहरी सक्रिय: हतियारदेखि फरार अभियुक्त नियन्त्रणमा

प्रकाशित मिति:

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नो सक्रियता बढाएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउने लक्ष्यका साथ प्रहरीले आफ्नो सक्रियता बढाएको हो । गएको एकहप्तामा मात्रै जिल्ला प्रहरी कार्यालय र उस सगका मातहातले हतियार सहित फरार अभियुक्त नियन्त्रणमा लिन सफल भएको छ ।

सरकारले विप्लव माओवादीलाई प्रतिवन्द गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले व्याक्तिका नाममा भएका हतियार बुझाउन परिपत्र सहित आग्रह गरेको थियो । जिल्लाको शान्ति सुरक्षा र अपराधिक गिरोहले विष्पोटक पदार्थबाट हुन सक्ने क्षतीलाई मध्यनजर गरेर प्रहरीले सादा र हतियार सहित रातको समयमा गस्ति समेत थालेको छ ।प्रहरीले नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

“गत चैत १ गतेदेखि २०७६ वैशाख ६ गतेसम्म सूचना जारी गरेका थियौँ”, प्रवक्ता भण्डारीले भने, “उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक नियन्त्रणमा आएको छ ।” स्याङ्जाको बिरुवा गाउँपालिकाबाट अवैध भरुवा बन्दुक प्रयोगकर्ता दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बिरुवा गाउँपालिका–३ का थमनसिंह थापामगर र सोही ठाउँका थामबहादुर थापालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात अदालतमार्फत दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।बिरुवा गाउँपालिकाका–३ स्थित सिउँदी कुथर भन्ने स्थानतर्फ जाँदै गर्दा थमनसिंहले बोकेको अवैध भरुवा बन्दुक पड्कन गई निजकै कोखामा लागेर घाइते भएका थिए । उपचार पछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यता ३३ बर्षपछि कर्तब्य ज्यान मुद्धाका आरोपी पक्राउ परेका छन् ।हरिनाश गाउँपालिका–३ का ८४ बर्षे मनबहादुर गुरुङ् मंगलबार पक्राउ परेका हुन् । ज्यान मुद्धाका आरोपी गुरुङ्लाई पश्चिमाञ्चल क्षेत्रिय अदालत पोखराले २०४२ असोजमा ९ बर्ष ५ महिनाको सजाय तोकेपछि उनी फरार रहदै आएका थिए । गाउँमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ । गुरुङ्लाई जेल चलान गरिएको छ ।अर्को तर्फ सफा गरिदिने निहुँमा सुन चोरी गर्ने दुई भारतीयलाई समेत प्रहरीले पक्राउ गरेको छ । भारत झारखण्ड प्रदेश गोठ्ठा जिल्ला मागहमा थाना ४ घर बताउने ३८ वर्षीय तेवारी शाह र ३३ वर्षीय असर्फी शाहलाई पक्राउ गरिएको हो । उनीहरुले चापाकोट नगरपालिका ५ आमडाँडा निवासी इन्द्रकुमारी मानन्धरको सुनको सिक्री सफा गरिदिन्छु भन्दै २ तोलाको सुनको सिक्रीबाट केही मात्रा सुन चोरी गरेको प्रहरीले जनाएको छ ।प्रहरीले ठगी गरेको सुनको मात्रासहिते पक्राउ गरेको हो । उनीहरु विरुद्ध ठगी मुद्धा दर्तागरी ३ दिनको म्याद थपगरी अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । सुन सफा गर्ने बहानामा सुन ठगी गरेको भन्दै प्रहरीमा खबर हुनासाथ प्रहरीको टोलीले खोजतलास गर्दा उनीहरु पक्राउ परेका हुन् ।प्रहरी र नागरिक मिलेर नै शान्तिसुरक्षा मजबुद बनाउन सहजता मिल्छ प्रहरी उपरिक्षक राजकुमार लम्सालले भने,“हामी अझै अपराधीक गतिविधिलाई शुन्यमा झार्ने प्रयासमा लागेका छौं ।” समाजमा अपराध गर्ने कोही कसैलाई नछाड्ने अभियानका साथ सबै प्रहरी इकाईलाई निर्देशन समेत दिएको छु लम्सालले भने । पछिल्लो समय प्रहरीले अबैध मदिरा नियन्त्रण, गाँजा फडानी, लागुऔषध ओसारपसार, रातको समयमा मदिरा खाएर हिड्ने जस्ता अबैध क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरीले विभिन्न माध्यम अपनाउदै सक्रियता बढाएको छ ।