सुदुरमा छाउपडी, गुल्मीमा सुरक्षित महिनावारी

प्रकाशित मिति:

गंगा खड्का÷गुल्मीसुदुरपश्चिम क्षेत्रमा छाउपडीले जडा गाडेको बेला गुल्मीमा भने सुरक्षित महिनावारी अभियानले तिव्रता पाएको छ । गाउँगाउँमा यस सम्वन्धी जागरण फैलाउने र विद्यालयहरुले कार्यन्वयन गर्ने गरेका छन् । गाउँपालिकाभरी रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा सुरक्षित महिनावारी सम्वन्धी अभिमुखीकरण कार्यक्रम भएपछि गाउँपालिकालाइ नै घोषणा गर्ने गरिएको छ ।

इन्सिनेटर सहितको छात्रा शौचालय, विद्यालयमा सञ्जाल गठन, फोकल शिक्षकको व्यवस्था, सेनेटरी प्याडको नियमित व्यवस्थापन र सुरक्षित महिनावारी सम्वन्धी अभिमुखीकरण हुनुपर्ने घोषणाका लागि सूचक तोकिएको छ । जनप्रतिनिधी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुले विद्यालयलाइ महिनावारीको बेला सुरक्षित राख्ने प्रतिवद्धताको सफत खाएका छन् । यी सवै सूचकहरु पुरा गरेपछि गुल्मीदरवार गाउँपालिका क्षेत्रमा रहेका सवै विद्यालयहरु महिनावारीमैत्री घोषणा गरियो ।

सामुदायिक र संस्थागत गरी गाउँपालिकामा १६ वटा विद्यालय संचालनमा छन् । विद्यालय संचालन भएको बेला किशोरी छात्राहरुलाइ महिनावारी हुने र बीचमै पढाइ छाड्ने समस्यामा कमी आएको शिक्षकहरुले बताएका छन् । गाउँपालिकाको समग्र शैक्षिक अवस्थामा सुधार ल्याउन उक्त कार्यक्रमले महत्वपूर्ण टेवा पु¥याउने शिक्षकहरुको आशा छ । कार्यक्रम संचालन भएका जिल्लाका धेरैजसो विद्यालयहरुका छात्राहरुले नियमित सेनेटरी प्याडको प्रयोग गर्न थालेका छन् । महिनावारीको क्षेत्रमा विद्यालय सुरक्षित भएपछि विद्यार्थी नियमिततामा वृद्धि हुँदै गएको ग्रिनवर्ड सेकेण्डरी इंग्लिस स्कुलका प्रिन्सिपल सन्तोष शर्माले जानकारी गराए । ‘छात्राहरुले खुलेरै सेनेटरी प्याड माग्न थालेका छन्’,उनले भने,‘शैक्षिक सुधारमा वृद्धि हुँदै जानेमा आशावादी छौँ ।’ आवश्यक सूचकहरु पुरा भएपछि सिंगो गाउँपालिकालाइ नै सुरक्षित महिनावारीमैत्री घोषणा गरिएको स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले जानकारी गराए । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटबाट विद्यालयहरुमा सनेटेरी प्याडको व्यवस्था, प्रयोग गर्ने तरिका र छात्राहरु सम्मिलित सञ्जाल गठन भएको उनले जनाए । दुइ महिनाअघि नै छात्राहरुलाइ अभिमुखीकरण गराइसकिएको अर्यालले बताएका छन् । उनका अनुसार गाउँपालिकाभरी अध्ययनरत करिव दुइ हजार बढी छात्राहरु प्रत्यक्ष लाभांवित भएका छन् । शुरुवाती चरणमा विद्यालयहरुलाइ प्रदान गरिएको सेनेटरी प्याड खपतको आधारमा नियमित गरिने गाउँपालिका अध्यक्ष अशोककुमार थापाले बताए । वार्षिक नीति तथा कार्यक्रममै समावेश गरी यस कार्यक्रमलाइ दिगो रुपमा संचालन गरिने उनले जनाए । ‘महिलाहरुकै महिनावारीले सृष्टिले निरन्तरता पाएको छ’, उनले भने,‘तर, नेपाली समाजले अझैपनि महिनावारीलाइ हाँउगुजी सम्झन्छ, परिवर्तन गराएरै छाड्छौँ ।’ अनुपम वरदानको रुपमा रहेको महिलाहरुको महिनावारीलाइ सहजै रुपमा लिन समेत उनले गाउँबासी सवैलाइ आग्रह गरे । सेवा सञ्चार, सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गुल्मीको पहलमा कार्यक्रम भएपछि जिल्लाका १ सय २० बढी विद्यालयका छात्राहरुले महिनावारी भएको बेला हुने समस्याबाट छुटकारा पाएका छन् । उनीहरुको प्रजनन् स्वास्थ्यमा समेत सुधार आएको पाइएको छ । महिनावारी भएको बेलामा समेत ढुक्कसँग छात्राहरु विद्यालय आउने गरेको शिक्षकहरुले प्रतिक्रिया दिए । जिल्लाको इस्मा, मदाने र छत्रकोट गाउँपालिकामा पर्ने विद्यालय यसअघि नै सुरक्षित महिनावारी घोषणा भइसकेका छन् । समुदाय स्तरमा समेत यस सम्वन्धी जागरण फैलाउनुपर्ने देखिएको नागरीक समाजका अगुवाहरुले स्थानीय सरकारलाइ सुझाव दिएका छन् ।