तीन महिनाभित्र सात लाख ५० हजार स्मार्ट लाइसेन्स बितरण हुने

प्रकाशित मिति:

काठमाडौं – यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी सबै सवारी अनुमतिपत्र (लाइसेन्स) को प्रिन्ट गरिसक्ने जनाएको छ।विभागले मन्द्रास सेक्युरिटी प्रिन्टर्ससँग प्रिन्ट तथा कार्ड खरिद तथा छपाइको सम्झौता गरेको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बढीमा तीन महिनाभित्र बाँकी सबै लाइसेन्स प्रिन्ट गरिसक्ने दाबी गरे। ‘हामीले अबको तीन महिनामा बाँकी लाइसेन्सको प्रिन्ट र डेलिभरी गर्छौं।’ विभागले लाइसेन्स परीक्षा उत्तीर्ण गरेका सात लाख ५० हजारलाई स्मार्टकार्ड वितरण गर्न बाँकी छ।

विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या छ लाख पुगेको छ। मास प्रिन्टरले प्रतिघण्टा पाँच सय स्मार्टकार्ड प्रिन्ट गर्ने र सफ्टवेयर पनि सोही अनुसार डिजाइन गरिने महानिर्देशक दाहालले जानकारी दिए। प्रिन्ट गरेर सकिएलगत्तै प्रदेश कार्यालयबाट पनि लाइसेन्स प्रिन्टको काम सुरु गर्ने तयारी विभागको छ।

हाल दैनिक १० हजारप्रति लाइसेन्सको माग छ । तर विभागले दैनिक एक हजार जति मात्रै प्रिन्ट गर्न सक्छ। हालसम्म विभागले आठ लाख ५६ हजार स्मार्ट लाइसेन्स वितरण गरिएको छ। नेपालमा सवारी लाइसेन्स लिनेको संख्या ३० लाख भन्दा बढी छ। विभागसँग सात वटा प्रिन्ट मेसिन भए पनि माग अनुसार प्रिन्ट हुन सकेको छैन।