जग्गा प्रकरणमा देउवाको संलग्नता छैन : खतिवडा

प्रकाशित मिति:

ओखलढुंगा – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवं पूर्वसांसद रामहरी खतिवडाले बालुवाटारस्थित ललितानिवास प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा संलग्न भएको प्रमाण देखाउन चुनौती दिएका छन । ओखलढुङ्गास्थित सुनकोशी गाउँपालिकाको मुलखर्कमा नेपाली कांग्रेसका अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले देउवा वा उनका आफन्तको नाममा जग्गा पास भएको प्रमाण देखाउन चुनौती दिएका हुन् । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा भूमाफियाले कित्ताकाट गरि बेचिदिएपछि यो प्रकरणले अहिले सत्ता र प्रतिपक्षी दुवै सकसमा परेका छन् । ‘बालुवाटार प्रकरणमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवालाई जोड्न खोजिँदैछ, शेरबहादुरले कसको नाममा जग्गा पास गरेको हो प्रमाण चाहियो,’खतिवडाले भने- ‘छोराको, श्रीमतीको वा कास्को नाममा सो जग्गा छ ? प्रमाण चाहियो, कसैले प्रमाण दिन सक्ने हो भने दोषी ठहर गरि कारबाही गर्नुपर्छ ।’

चुनावमा कांग्रेस पार्टी पराजित हुनुका पछाडिको कारण खोज्न खतिवडाले पार्टीका अगुवा कार्यकर्तालाई सुझाए । शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई गोली गर्नुको साटो आफ्नो घर, टोल र वडामा पार्टी प्रभाव बलियो बनाउनुपर्ने बताउँदै खतिवडाले एउटा कांग्रेसको मन दुख्दा अर्कोको पनि दुख्नुपर्ने धारणा राखे । जिल्लाका कोही पनि कार्यकर्ता देउवा वा पौडेल वा सिटौलाको बन्न नहुने र जिल्लामा पनि आफु, प्रदीप सुनुवार वा बालकृष्ण दाहालको बन्न नहुने उल्लेख गर्दै उनले सबै कार्यकर्ता कांग्रेस र रुखको मान्छे बन्नतर्फ लाग्नुपर्ने उल्लेख गरे ।

पार्टीले ओखलढुङ्गामा चुनाव हार्दा जिल्लाको विकास पनि हारेको खतिवडाले दाबी गरे । संसदमा ओखलढुङ्गाको कुरा उठाउने मानिस समेत नभएको खतिवडाले बताए । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भीमकुमार गौतमले नेताहरुलाई दोष लगाएर पार्टी सुधार हुन नसक्ने धारणा राखे । त्यतै, संघका जिल्ला अध्यक्ष रोशन महताराले नेविसंघ सदैव विद्यार्थीको हकहीतका लागि लागिपरेको दाबी गरेका छन् ।