बालुवाटार जग्गा प्रकरणमा संलग्नलाई तत्काल कारबाही होस् : केसी

प्रकाशित मिति:

झापा – कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले बालुवाटार जग्गा प्रकरणमा संलग्न जो भए पनि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउबाको पनि नाम मुछिएपछि केन्द्रीय सदस्य केसीले यस्तो बताएका हुन् । ‘जुनसुकै पार्टीको जोसुकै भए पनि गलत मान्छेलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ,’ बिहीबार बिर्तामोडमा प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भने, ‘निष्पक्ष छानविन गरेर तत्काल कारबाही हुनुपर्छ भन्ने अभियानमा म लागेको छु ।’

उनले यो प्रकरणमा चुप लागेर नबस्न कार्यकर्ता र सर्वसाधारणलाई समेत आग्रह गरेका छन् । यस प्रकरणमा सभापति देउवा मुछिएकोबारे प्रकाशित समाचार आफूले राम्ररी पढेको नेता केसीले बताए । यद्यपि, हालसम्म पार्टीभित्र यसबारे कुनै छलफल नभएको उनको भनाइ थियो ।

सरकारको आलोचना
नेता केसीले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । ‘प्रधानमन्त्रीले मजदुरका दुःखका दिन गए भनेको समाचार देखेँ, तर उहाँकै गृहजिल्ला झापामा ३३ दिनदेखि चिया मजदुर आन्दोलनमा छन्,’ उनले भने, ‘हावादारी सपना नदेख्न र झुटको खेती नगर्न म उहाँलाई सुझाव दिन्छु, ठूल्ठूला कुरा गर्नुभन्दा जनताका न्यूनतम आवश्यकता पूरा गर्नतिर लाग्नु राम्रो हो ।’ ओली नेतृत्वको सरकार बनेदेखि नै संविधानमाथि प्रहार सुरु भएको उनले बताए । सम्पूर्ण शक्ति प्रधानमन्त्रीले आफ्नो हातमा लिएको बताउँदै उनले स्वतन्त्र न्यायपालिकामाथि पनि एकपछि अर्को गर्दै हस्तक्षेप र नियन्त्रण गर्ने काम भइरहेको उल्लेख गरे । लोकतन्त्रको आवरणमा सरकारले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरिरहेको उनको भनाइ थियो ।

कम्युनिस्ट सरकार आएयता मुलुकमा भ्रष्टाचार बढेको केसीले दाबी गरे । ‘भ्रष्टाचारसम्बन्धी कुनै पनि केस टुंगो लागेको छैन, भूमाफिया बग्रेल्ती बढ्दा पनि सरकार चुपचाप छ,’ उनले भने, ‘राजस्व अनुसन्धानको नेतृत्व स्वयम् प्रधानमन्त्रीको हातमा छ, तर केही पनि पत्ता लाग्दैन ।’ कम्युनिस्ट सरकार आएयता सर्वसाधारणलाई करको भारले थिचेको उनले बताए ।

कांग्रेस कमजोर प्रतिपक्ष
केन्द्रीय सदस्य केसीले प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर भएको स्वीकार गरे । ‘कांग्रेस कांग्रेस हो, कम्युनिस्ट होइन,’ उनले भने, ‘माइक तोड्ने, कुर्सी उठाएर फ्याँक्ने काम कांग्रेसले गर्दैन, सरकार बिस्तारै आफैँ नांगो हुँदैछ ।’ एक फरक प्रसंगमा उनले कांग्रेसभित्र यथास्थितिवादी र सुधारवादी गरी दुईवटा मात्र गुट रहेको बताए । पार्टीको केन्द्रीय नेता बन्नका लागि तल्लो तहदेखि नै निर्वाचित हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले स्पष्ट पारे । ‘हिजोको महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याएपछि मैले नोट अफ डिसेन्ट लेखेरै यो अभियानमा लागेको छु,’ उनले भने ।