गिरिजाप्रसादको विकल्प किन भएनन् रामचन्द्र ?

प्रकाशित मिति:

गिरिजाप्रसाद कोइरालाको सभापतित्वमा रहेको कांग्रेसभित्र आफ्नै किसिमका समस्या थिए। देउवालाई कांग्रेसको संगठनभित्र ठूलो चुनौतीका रुपमा देखिरहेका सभापति कोइरालाका प्रमुख सहयोगीहरु (खास गरेर सुशील कोइराला र गोविन्दराज जोशी तथा उनीहरुका सहयोगी हातहरु) देउवाको बहिर्गमनलाई नै आफ्नो उपलब्धी र सन्तोषको बिषय बनाउन मस्त भए । अर्कोतिर केही वैचारिक र संगठनमा आधारभूत सुधार गर्ने प्रश्नमा मुखर देखिएका बाँकी व्यक्ति संगठित थिएनन्।

रामचन्द्र पौडेल र रामशरण महत लामो समयसम्म शेरबहादुरको सहयोगीका रुपमा रहेर अन्तिम समयमा कारणबश मात्रै उछिट्टिएर नेपाली कांग्रेसको मुल धारमा फर्के पनि गिरिजाप्रसाद कोइरालाका सहयोगीको विकल्प हुन मात्रै खोजिरहेका थिए, नयाँ बिचार र दृष्टिकोणलाई बोक्न तयार थिएनन्। त्यसैले रामचन्द्र पौडेल प्राबिधिक रुपले अगाडि देखिए पनि यथार्थमा दृष्टिकोण र बिचारका आधारमा गिरिजाप्रसाद कोइरालाको बिकल्पका रुपमा उभिन सकेनन् र आन्तरिक संगठनका हिसाबले पनि उनको त्यो सामथ्र्य देखिएन।

नेपाली कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको ठाउँ लिन चाहने तर नयाँ बिचार र दृष्टिकोण बोक्न र अघि बढाउन तयार नहुने प्रबृत्तिले समष्टिमा कांग्रेस कमजोर बनिरहेको अबस्थामा राजा ज्ञानेन्द्रको अभियान अघि बढेको छ। यहि परिस्थितिमा नयाँ कांग्रेस बन्ने वातावरण निर्माण हुन खोजिरहेको छ। मलाई लाग्छ आजको संकट यही वातावरण निर्माणको पूर्वपीठिका बन्न सक्छ। यस निम्ति प्रतिक्षा मात्रै होइन ठोस प्रयत्नको आवश्यकता पर्दछ। यस प्रयत्नले कांग्रेसलाई नयाँ बनाउँछ कि अलग्गै लोकतान्त्रिक विकल्प निर्माण गर्ने बाटो खोल्छ, त्यसको भने केही समय प्रतीक्षा गर्नै पर्ला।

२०६२ फागुन २ मंगलबार

आज साँझ रामचन्द्र पौडेल, शशांक कोइराला र एनपी साउदका बीच कांग्रेसको एकीकरण र भबिष्यको नेतृत्वका बारेमा अकस्मात् कुराहरु उठे। यसले एक प्रकारले राम्रै छलफलको आकार लिन खोज्यो। प्रारम्भमा डा. देबेन्द्रराज पाण्डे र डा. मथुराप्रसाद श्रेष्ठ पनि पर्यबेक्षक जस्तै ढंगमा सामेल हुनुभयो। पहिलो सशांकले रामचन्द्रजीका बिशेषता र कमजोरीका बारे कुरा प्रबेश गराए।

सशांकको भनाइमा रामचन्द्रजीले आफ्नो क्षमता र योग्यताको आफैं पहिचान गर्न सक्नुभएन, त्यसनिम्ति चाहिने साहस र दृष्टिकोणको बिस्तार पनि भएन। धेरैजसो कार्यकर्ताहरु रामचन्द्रजीलाई सानो चित्तको व्यक्ति भनेर टिप्पणी गर्छन् भन्ने पक्ष पनि सशांकले राखे। त्यसपछि उनी मेरा बारेमा कुरा गर्न खोज्दै थिए, बेलुकाको खाना आएकोले हामी सबै खानका लागि उठ्यौं। खाना खाएर फर्केपछि पनि हाम्राबीचको छलफलले केही समय लियो। रामचन्द्रजीले पनि हाम्रो बारेमा टिप्पणी गर्नुभयो। सशांकलाई उहाँले पारिवारिक राजनीतिको घेराबाट उम्कन सक्ने वा नसक्ने कुराले नै उनको सामथ्र्यको आँकलन गर्नेछ र यो उनको राजनीतिक भविष्यका लागि कडा प्रवेश परीक्षा बन्न सक्छ भन्ने भनाइ रामचन्द्रजीको थियो। मेरो बारेमा उहाँले बेलाबखत गर्दै आएको टिप्पणी दोहो¥याउनु भयो, ‘बौद्धिक र वैचारिक रुपले आजसम्म नरहरिजीको प्रस्तुती रामै्र भए पनि बिना संगठनात्मक सीप त्यसले कुनै काम गर्दैन । संगठन निर्माणका लागि चाहिने तत्परता नरहरिमा छैन। बिचार प्रकट गर्नकै लागि सक्रिय राजनीतिमा आउनु आवश्यक थिएन। विश्वविद्यालयमा नै बसेर पनि यो काम गर्न सकिन्थ्यो । त्यसैले यो पक्ष नरहरिले सुधार गर्न सक्ने कि नसक्ने त्यसैमा धेरै कुरा टिकेको छ।’

२०६२ फागुन २४ बुधबार

अपरान्हतिर डा. सशांक कोइराला पनि आफ्ना सहयोगी आरपी आचार्यका साथ आइपुगे। यसपटक महाराजगञ्ज प्रहरी प्रतिष्ठानमा बन्दीका रुपमा डा. कोइरालासंग संगै बस्ने र केही कुराकानी पनि हुने सन्दर्भ बन्यो। आज भने सभापति कोइरालाको सन्देश लिएर डा. सशांक आएका रहेछन्। सभापतिजीको भनाइ भनेर सशांकले भने ‘नरहरिजीलाई भन्दिनू उहाँ ढुक्क भए हुन्छ। अब म राजाका शर्तमा कुनै सम्झौता गर्दिन, यो ८४ बर्षको उमेरमा म कसैसंग झुक्दिनँ। हामी साहस र आँटका साथ नै अघि बढ्नुपर्छ भन्ने मेरो बिचार छ।’ एकछिन मेरा आवश्यकता र कठिनाईका बारेमा पनि गिरिजादाजुका तर्फबाट सोधपूछ भयो। मलाई लाग्छ, केही दिनअघि महाराजगञ्ज प्रहरी प्रतिष्ठानमा रहँदा नै मैले सभापतिज्यूलाई लेखेको चिठीको उत्तर हुनुपर्छ सशांकमार्फत आएको उहाँको भनाइ ।

(बुधबार सार्बजनिक गरिएको कांग्रेस नेता आचार्यको पुस्तक’गणतन्त्रको यात्रा’ को अंश) स्पेसखबर बाट साभार ।