जग्गा दलालहरुसँग मिलेर वडा अध्यक्षले सुकुम्बासीका घर भत्काइदिएको आरोप

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेले जग्गा दलालहरुसँग मिलेर ४० बर्षदेखि बस्दै आएका सुकुम्बासीहरुका घर भत्काइदिएको सर्वहारा सुकुम्बासी मोर्चा नेपालले आरोप लगाएको छ ।  सर्वहारा सुमुम्बासी मोर्चा नेपालले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना वडा अध्यक्ष पाण्डेले जग्गा दलालहरुसँग मिलेर २०३६ सालदेखि जोतभोग गर्दै आएका सुकुम्बासीहरुको घर भत्काउने र उनहरुलाई बिस्थापीत गर्ने षडयन्त्र गरेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सर्वहारा सुकुम्बासी मोर्चा नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर श्रीसले बिगत ४० बर्षदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरुका घर भत्काउने र उनिहरुलाई बिस्थापीत गर्ने नगरपालिकाको कार्य खेदजनक रहेको भन्दै त्यसका बिरुद्ध आफुहरु जस्तोसुकै संघर्ष गर्न पनि पछि नपर्ने चेतावनी दिए ।कार्यक्रममा पिडीत सिमा बिक.ले चुनावका बेला मलाई भोट देउ तिमिहरुले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा दिन्छु भनेको र आफुहरुले भोट समेत दिएर जिताएको बताउदै वडा अध्यक्षले अहिले लालपुर्जा दिनुको सट्टा उल्टै जग्गा दलालहरुसँग मिलेर आफुहरुका घर टहरा भत्काइदिने र आफुहरुलाई त्यहाँबाट बिस्थापीत गर्न खोजेको आरोप लगाइन् ।

तिन पुस्तादेखि आफ्नो परिवारले भोग चलन गर्दै आएको जग्गाबाट वडा अध्यक्षले डर धाक,धम्कि र प्रहरीको समेत दुरुपयोग गरी आफुहरुलाई बिस्थापीत गर्न खोजेको भन्दै उनले त्यहाँबाट हट्नु परे आफुहरुको बिचल्ली हुने गुनासो गरिन् ।आफुहरुले चर्चेको १५ कठ्ठा जग्गा मध्ये ११ कठ्ठा जग्गा नगरपालिकालाई नै फिर्ता दिएको बताउदै उनले बाँकी रहेको चार कठ्ठा जग्गा समेत वडा अध्यक्षले हडप्ने प्रयास गरेर आफुहरुमाथि अन्याय भएको बताइन् ।आफु लगायत अन्य ५ जनाको घरहरु समेत वडा अध्यक्षले भत्काइदिएको उनको दाबी थियो ।एउटा मोबाइल फोन समेत नलिएकी सिमाले यस अघि आफुले प्राप्त गरेको सो जग्गाका प्रमाणहरु पत्रकारहरुलाई देखाएकी थिइन् ।उनिसँग तत्कालीन करहीया गाबिसले सुकुम्बासी आयोगमा जग्गाधनी दर्ता प्रमाण पुर्जा दिन गरेको सिफारिस र सुकुम्बासी आयोगले दिएको कुपन समेत सूरक्षीत रहेको छ ।घटना बारे प्रतिक्रियाकालागि तिलोत्तमा नगरपालिकाको वेवसाइडमा रहेको नगरपालिकाको ०७१–५६२६१६,५६२९७९ र ५६०२३० नम्बरमा पटक÷पटक सम्पर्क गर्दा फोन उठेन ।