सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित

प्रकाशित मिति:

वासिंगटन –  भेनेजुएलामा जारी राजनीतिक संकटकाबीच सैनिक हस्तक्षेप गर्ने भनिएको विषयमा अमेरिकी अधिकारीहरुकै मत बाझिएको छ । विवादकै कारण भेनेजुएला संकट समाधानका लागि सैन्य विकल्प खोज्ने विषयमा ठोस सहमति बन्न सकेको छैन । केही अधिकारीले राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारी भने विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा पनि राखेका छन् । अमेरिकी छापाहरुमा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न नसकेको समाचर टिप्पणी आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी सैन्यबलमार्फत हस्तक्षेप गर्न सकिने इच्छा व्यक्त गरेको उनका एकजना पूर्व सहयोगीले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अझै पनि भेनेजुएलामा शान्तिपूर्ण समाधानकै आवश्यकता रहेको बताउछन् । उनले भेनेजुएलाको अहिलेको राजनीतिक संकट शान्तिपूर्णरुपमा नै समाधान होस् भन्ने चाहना धेरैको रहेको बताए । तर उनले सैन्य कारबाहीलाई पनि नकारेका छैनन् । यो संकटको समाधान शान्तिपूर्णरुपमा नै निस्कियोस् भन्ने चाहना धेरैको भएपनि यसबाट सम्भव नभएमा सैनिक कारबाही पनि असम्भव नभएको उहाँको भनाइ छ । केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रले भेनुजुएलाका विपक्षी नेता हुवाँ गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका थिए । यो उनीहरुको अकस्मात निर्णय आएपछि त्यहाँको राजनीतिक संकट झन् गहिरिएको हो ।

त्यसयता यहाँको राजनीति झन्भन्दा झन जटिल बन्दै गएको छ । विपक्षी नेता गुएइदोले राष्ट्रपति निकोलास मडुरोलाई सत्ताबाट हटाउनुपर्नेमा राख्दै आन्दोलन थालेका छन् । अहिले आएर उनले हालैमात्र नेता मडुरो सत्ताबाट नहटुन्जेल शृंखलाबद्धरुपमा आम हड्तालको आह्वान गरेका छन् । सुरुमा विपक्षी नेता गुएइदोले सैन्य विद्रोह गराउन रचेको योजना विफल भएपछि उनले सरकारका विरुद्धमा आमहड्ताल थालेका हुन् । सो सैन्य विद्रोह कार्य विफल भएपछि राजधानीमा भेला भएका हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले अबको चरणमा सरकारी कर्मचारी हडतालमा सामेल हुने बताएका थिए । यो विद्रोह यस साता थप चर्किएको छ । विपक्षीले सडकमा प्रदर्शन गरेका छन् र राष्ट्रपति निकोलास मडुरो नहट्दासम्म यो आन्दोलन जारी रहने बताएका छन् ।  यस विषयमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले कुनै निर्णय गरेको छैन । तर यसका लागि अर्थात भेनेजुएलामा सैनिक हस्तक्षेपका लागि आफूले कुनै तयारी भने नथालेको उसले बताएको छ । भेनेजुएलामा यतिखेर यहाँका दुवै जना नेता वर्तमान राष्ट्रपति मडुरो र विपक्षी नेता गुएइदो दुवैको आफू नै संवैधानिक राष्ट्रपति भएको दाबी छ ।

गुएइदोले राजनीतिक विद्रोहमार्फत आफूलाई नै अन्तरिम राष्ट्रप्रमुखका रुपमा स्वघोषणा गरेका थिए तर त्यसलाई सरकारले मान्यता दिएको छैन । त्यसपछि उनका विरुद्धमा सरकारले कारबाही थालेको छ । हाल भेनेजुएला सरकारले उनको सम्पत्ति रोक्का गरेको छ र देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो । सरकारको त्यस घोषणाको उल्लंघन गर्न र मदुरोविरुद्धको आन्दोलनमा विदेशी समर्थन जुटाउन गुएइदोले दुई महिना अघिमात्र ल्याटिन अमेरिकी देशहरुको भ्रमण गरेका थिए । उनलाई सरकारले पक्राउ गर्ने भनेको भए पनि त्यसै त्रासकैबीच गत मार्च महिनामा उनी स्वदेश फर्किएका थिए ।

गुएइदोले आफू स्वदेश फर्किने बताएपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गुएइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका थिए । उनले गुएइदोलाई असुरक्षाको महसुश हुन दिन नहुने भन्दै मदुरो प्रशासनलाई सचेतसमेत गराएका थिए । केही वर्षयतादेखि भेनेजुएलाले चरम आर्थिक संकट खेपिरहेको थियो । आर्थिक समस्याबाट गुज्रिएको भेनेजुएलामा केही महिनायता आएर राजनीतिक संकट पनि थपिएको छ । गुएइदोको आफै अन्तरिम राष्ट्राध्यक्ष बनेको स्वघोषणालाई अमेरिका, ब्रिटेन तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित विश्वका करिब ५० राष्ट्रले समर्थन गरेका छन् । त्यसैगरी उता वर्तमान राष्ट्रपति मदुरोलाई पनि रुस र चीनको समर्थन छ । त्यसैगरी उनलार्ई देशभित्रैका वरिष्ठ सैनिक अधिकारीको पनि समर्थन रही आएको छ ।