नेपाली विद्यार्थीलाई लक्षित गरेर अष्ट्रेलियाको अध्यागमनले लागु गर्‍यो नयाँ नियम

प्रकाशित मिति:

अष्ट्रेलिया — अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेको छ । नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ । अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नुपर्ने भएको छ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।

अष्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या अत्यधिक रहेको भन्दै विद्यार्थी संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरुको भविष्यलाई सुरक्षित राख्नका लागि यो नियम लागु गरिएको सूचनामा जनाइएको छ । प्राविधिक शिक्षा अन्तरगत एडभान्स डिप्लोमा, डिप्लोमा, विभिन्न विषयका सर्टिफिकेट तीन र चार लगायतका प्राविधिक तहका विषयहरु पर्दछन् । जारी गरिएको सूचनामा नेपाल विश्वको ४७ औं ठुलो जनसंख्या भएको देश भएपनि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्यामा तेस्रो रहेको उल्लेख गरिएको छ । प्राविधिक शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई मात्र लक्षित गरिएको यो परिवर्तनले उच्चशिक्षा (ब्याचलर्स, मास्टर्स र सो भन्दा माथिका) विषय अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भने असर नगर्ने समेत जनाइएको छ ।

पछिल्लो समयमा नेपालीहरु नर्सिङ, एकाउन्टिङ, बिजनेस लगायतका डिप्लोमा तहका विषयहरु अध्ययन गर्न आउने क्रम बढेको छ । सिड्नीका परामर्शदाता संजीव पाण्डेले यो नियम परिवर्तनले मुख्य गरेर नेपालबाट पर्यटक भिषामा आएर विद्यार्थीका रुपमा बस्न चाहनेहरुका लागि कठिन हुने बताए । उनले यो परिवर्तनले यहाँको प्राविधिक शिक्षा मात्र अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रुपमा घट्न सक्ने र भिषा अस्वीकृति दर समेत बढ्न सक्ने दाबी गरे । । उनका अनुसार पहिले शैक्षिक संस्थाले मात्र अंग्रेजी र आर्थिक हैसियत लगायतका कागजपत्र हेर्ने गरेको भएपनि नयाँ नियमपछि अध्यागमनले उक्त कागजपत्रहरु जाँच गर्ने बताए – कान्तिपुर