अब्बल सामुदायिक विद्यालय

प्रकाशित मिति:

घोराही –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जीवन गौतमले गत वर्ष घोराहीको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययरत छोरी अभिरुची गौतमलाई रझेना माध्यमिक विद्यालयमा भर्ना गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि र शिक्षण सिकाइमा सुधार आउन थालेपछि संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको सङ्ख्या बढेको छ । त्यसमध्ये गौतम पनि एक हुनुहुन्छ । अहिले सबै शिक्षक, कर्मचारी र व्यवस्थापन समितिले आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गरेका छन् । फलतः अन्यले पनि संस्थागत विद्यालयबाट छोराछोरी सामुदायिकमा सार्ने लर्को नै शुरु भएको छ । तुलसीपुर उपहानगरपालिकाकी कार्यपालिका सदस्य तीला परियारले तुलसीपुरको एक संस्थागत विद्यालयमा कक्षा ९ मा अध्ययनरत छोरीलाई अहिले गुरुजजुर नमूना माध्यमिक विद्यालयमा भर्ना गर्नुभएको छ ।

गुरुजजुरले संस्थागतभन्दा पनि राम्रो शिक्षण क्रियाकलाप सञ्चालन गरेको थाहा पाएपछि उहाँले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा सार्नुभएको हो । गुरुजजुरमा मात्रै यस नयाँ शैक्षिकसत्रमा करीब ५०० विद्यार्थी निजी विद्यालय छोडेर भर्ना हुन आएका छन् । विद्यालयका प्राचार्य विष्णु आचार्यका अनुसार विद्यार्थी र अभिभावकको मन जित्न सके विद्यार्थी आफँै विद्यालय खोज्दै आउँछन् । अहिले गुरुजजुरमा एक हजार ८०० विद्यार्थी अध्ययनरत छन्, अझै विद्यार्थी भर्ना हुने क्रम रोकिएको छैन । पहिले–पहिले गरीब, दलितका छोराछोरी पढ्न आउने गुरुजजुरमा अहिले गाडी चढ्नेका छोराछोरी पढ्न आउने गरेको प्राचार्य आचार्यको भनाइ छ ।

“अहिले विद्यालयका सबै शिक्षक, शिक्षिका, कर्मचारीका छोराछोरी यही विद्यालयमा भर्ना भएका छन्”, उहाँले भन्नुभयो “अहिले हामीले सचेत, हुनेखाने, विद्यालयलाई सजिलै सहयोग गर्न तयार अभिभावकका छोराछोरी पाएका छौँ ।” अहिले विद्यालयमा अङ्ग्रेजी माध्यम, अडियो, भिडियो, स्मार्ट बोर्ड र कम्युटरबाट शिक्षण सिकाइ गर्न थालेपछि, विद्यार्थीका लागि स्कूल बसको व्यवस्था भएपछि विद्यार्थीको आकर्षण बढेको विद्यालयको भनाइ छ । अहिले नर्सरीदेखि कक्षा १२ कक्षासम्म पढाइ हुने सो विद्यालयमा कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । तर विद्यालयको पर्याप्त आम्दानी नहुँदा समस्या भएको उहाँको भनाइ छ । अझै पनि पर्याप्त भौतिक संरचना बन्न नसक्दा एउटा कक्षामा ७० देखि ८० सम्म विद्यार्थी राख्नुपरेको उहाँले सुनाउनुभयो ।

त्यस्तै विद्यालयमा हुने भनिएको राजनीति र राजनीतिक हस्तक्षेप आफुले हुन नदिएको उहाँको तर्क छ । विद्यालय सुधारका लागि सर्वप्रथम प्रअ, शिक्षक, अभिभावक र सरोकारवालाले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । “सबैले यो मेरो विद्यालय हो, विद्यालय सुध्रिए, आफ्नो बच्चा र समाज सुध्रिन्छ भन्ने सोच्नुपर्छ”, उहाँले भन्नुभयो, “विद्यालय सबैको साझा हो, यसलाई कमजोर र फोहर हुन दिनहुन्न ।” घोराहीमा रहेको पद्मोदय नमूना उच्च माध्यमिक विद्यालयमा हाल छ हजार विद्यार्थी अध्ययनरत छन् । गत वर्षसम्म प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्दै आएको पद्मोदयले यस वर्षदेखि छानेर ५०० विद्यार्थी मात्र भर्ना गरेको छ भने अरु आउने विद्यार्थीलाई भर्ना नै रोकेको छ । विद्यार्थीको भर्ना दर बढेपछि विद्यालयले थेग्न नसकेको हुँदा भर्ना रोक्नुपरेको प्राचार्य डा कृष्णराज डिसी बताउनुहुन्छ ।

विसं २०६० देखि अङ्ग्रेजी माध्यमबाट पढाउन शुरु गरेको यस विद्यालयले गुणस्तरीय शिक्षा दिएसँगै अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । वर्षेनी नयाँ भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या बढ्दो छ भने निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या पनि उस्तै छ । “नयाँ शैक्षिकसत्रदेखि गुणात्मकभन्दा पनि गुणस्तरीयता बढाउनेतर्फ जोड दिएका छौँ, तसर्थ प्रवेश परीक्षाबाट ५०० भन्दा धेरै विद्यार्थी भर्ना नलिने निर्णय गरेका छौँ”, प्राचार्य डा डिसी भन्नुहुन्छ, । निजी विद्यालयबाट निकालेर घोराहीको बालविकास माध्यमिक विद्यालयमा आफ्नो दुई बच्चा भर्ना गर्न आउनुभएकी तुलसा रानाले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि आफूले सामुदायिक विद्यालयमा बच्चालाई भर्ना गरेको बताउनुभयो ।

“निजी विद्यालयभन्दा शुल्क सस्तो छ, पढाइ पनि उस्तै रहेछ”, अभिभावक रानाले भन्नुभयो, “बोर्डिङसरह पढाइ हुने भएपछि दुवै छोरालाई सरकारी स्कूलमा भर्ना गरेकी हुँ ।” घोराही–१४ स्थित बाल विकास माध्यमिक विद्यालयमा वर्षैपिच्छे नयाँ भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या बढेको प्राचार्य राजेन्द्रकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या धेरै भएकाले प्रवेश परीक्षा लिने गरेका छाँै ।” प्रवेश परीक्षा पास भएपछि मात्र भर्ना गरिने उहाँले बताउनुभयो । भर्ना हुन आउने विद्यार्थीको चाप बढे पनि भौतिक पूर्वाधारको अभावले चालू आवमा करीब नयाँ र पुराना गरी एक हजार ५०० विद्यार्थी भर्ना लिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको छ ।

“प्रविधिमा आधारित पठनपाठनमा पनि उत्तिकै जोड दिएका छौँ”, प्राचार्य श्रेष्ठ भन्नुहुन्छ, “यसै वर्षदेखि कक्षा ८, ९ र १० मा स्मार्ट बोर्डबाट अध्यापन शुरु गर्दैछौँ । अभिभावकको चाहना र समयको आवश्यकतालाई ध्यानमा राखेर प्रविधिमा आधारित शिक्षालाई विशेष जोड दिएका छौँ ।” घोराही उपमहानगरभित्रकै अर्काे सामुदायिक विद्यालय रझेना माविले पनि यस वर्षबाट प्रवेश परीक्षामा पास हुनेलाई मात्र विद्यालयमा भर्ना गरेको छ । विद्यालयको भौतिक पूर्वाधार, सेवासुविधा र शैक्षिक गुणस्तरमा सुधार गरेसँगै वर्षेनी नयाँ भर्ना हुन आउने विद्यायार्थीको सङ्ख्या बढ्दै गएको प्रार्चाय उद्धव न्यौपाने बताउनुहुन्छ ।

नीजि विद्यालयको तुलनामा कम शुल्कमै मन्टेश्वरीदेखि ९ कक्षासम्म अङ्ग्रेजी माध्यमबाट सञ्चालन र भौतिक पूर्वाधारमा जोड दिएसँगै अभिभावकहरु आकर्षित भएको प्राचार्य न्यौपानेको अनुभव छ । विद्यालयका प्राचार्य न्यौपानेले दिएको जानकारीअनुसार रझेनामा अभिभावक र विद्यार्थीको चाहनाअनुरुप अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ सञ्चालन भइरहेको छ । रझेना विद्यार्थीले भरिभराउ मात्र होइन, भौतिक पूर्वाधारले पनि सुविधासम्पन्न भएको विद्यालयका प्राचार्य न्यौपानेको दावी छ । “हाम्रो विद्यालयमा खानेपानी, छात्राका लागि सुविधासम्पन्न शौचालय, पुस्तकाय र दुई स्कूल बस पनि छन्”, उहाँले भन्नुभयो, “प्रत्येक विद्यार्थीको हाजिरी शिक्षक, अभिभावक र विद्यार्थी स्वयंले हेर्न मिल्ने इ–शिक्षाको व्यवस्थासमेत गरेका छाँै ।”

यस्तै अर्को नमूना सरकारी विद्यालयका रुपमा लमही नगरपालिकामा रहेको आर्दश माध्यमिक विद्यालय देउपुर पनि हो । गत वर्ष २०७४ मा विद्यालयको स्तरलाई मापन गर्दै केन्द्रबाटै नमूना विद्यालय घोषित भएको थियो । हाल करीब दुई हजार विद्यार्थीलाई नियमित अध्ययन गराइरहेको आर्दश माविमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट अध्ययन अध्यापन गराइरहेको विद्यालयको भौतिक संरचना पनि पुग्दो छ । प्रत्येक वर्ष लिइने एसइईमा पनि आफूहरुले राम्रो नतिजा ल्याइरहेको विद्यालयका प्राचार्य शशिधर ज्ञवालीले जानकारी गराउनुभयो । – रासस