बुटवल ईजलासबाट विदा भए ६ न्यायधीस,,स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न बार बेञ्चबीच ऐक्यबद्धता जरुरी

प्रकाशित मिति:

स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न बार बेञ्चबीच ऐक्यबद्धता जरुरी रहेकोमा न्यायाधीश र कानून व्यवसायीहरुले जोड दिएका छन् ।उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट सरुवा भई अन्यत्र जान लागेका ६ जना न्यायाधीशहरुको विदाईको लागि उच्च अदालत बार एसोसिएसन बुटवलले आज आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएका हुन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट सरुवा भएका न्यायाधीशहरु वरिष्ठ न्यायाधीश रमेश पोख्रेल, अन्य न्यायाधीशहरु विदुरविक्रम थापा, नागेन्द्रलाभ कर्ण, कृष्णलाल भट्टराई, मुनेन्द्रप्रसाद अवस्थी र शान्ता सेढाईं सापकोटालाई बार एकाईले टीका, माला, खादा र मायाको चिनो प्रदान गरी विदाई गरेको हो ।

सो अवसरमा बोल्दै वरिष्ठ न्यायाधीश रमेश पोख्रेलले बार र बेञ्च एकै सिक्काको दुई पाटाजस्तै भएकाले सहकार्य गरेर जा“दा नै परिणाम राम्रो देखिएको बताउनु भयो । ‘न्यायाधीश हुनुमा पहिले गर्व गर्ने अवस्था थियो, अहिले त्यस्तो अवस्था छैन, त्यसैले न्यायाधीशहरुले इमानदारितापूर्वक काम गर्नु जरुरी छ’ न्यायाधीश पोख्रेलले भन्नुभयो ‘गल्ती गरेमा न्यायाधीश भन्दै कसैले छोड्नेवाला छैन, त्यसैले सुरक्षित अवतरण हुने गरी काम गर्नु जरूरी छ ।’
न्यायाधीशद्वय गोकर्ण डागी र शान्ता सेढाईं सापकोटाले न्यायपालिकाको गरिमा बचाइराख्न सरोकारवालाहरु नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ अधिवक्ताद्वय शालिकराम बञ्जाडे र डा। बुद्धबहादुर थापाले न्यायालयमाथि राजनीतिक हस्तक्षेप हुन नहुने बताउनु भयो ।उच्च अदालत बार एसोसिएसन बुटवलका अध्यक्ष खडानन्द भण्डारीको अध्यक्षता, उपाध्यक्ष माधवप्रसाद घिमिरेको स्वागत मन्तव्य, सचिव हिमलाल पौडेलको सञ्चालन रहेको कार्यक्रममा बार एकाईका पूर्व अध्यक्ष बाबुराम पाण्डे, अधिवक्ता रामजीप्रसाद ज्ञवाली लगायतले बोल्नु भएको थियो ।