‘मेरो सरकार’ले राष्ट्रपति विवादमा

प्रकाशित मिति:

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा शुक्रबार प्रस्तुत गर्दा मेरो सरकार भन्ने शब्द प्रयोग गरेपछि विवादमा तानिनुभएको छ। शुक्रबार संघीय संसद्मा सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले पटकपटक मेरो सरकारले आगामी वर्ष यो काम गर्नेछ भन्ने शब्द प्रयोगपछि सामाजिक सन्जालमा उहाँको तीव्र आलोचना भएको हो।

सामाजिक सन्जाल प्रयोगकर्तामध्ये केहीले राष्ट्रपतिलाई महारानीको संज्ञा दिएका छन् भने कतिपयले दरबारीया शैली र शब्द प्रयोग भएको भन्दै आलोचना गर्न भ्याएका छन्। सरकारको नीति तथा कार्यक्रमका बारेमा टीकाटिप्पणी गर्नुपर्ने बौद्धिक समुदायसमेत मेरो सरकार भन्ने शब्दमा अल्झिएका छन्। उनीहरूले सरकारको कार्यक्रममा बारेमा एक शब्दसमेत बोल्न भ्याएका छैनन्।

नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति भण्डारीले मेरो सरकार भन्नुभएकोमा आपत्ति जनाउनुभयो। उहाँले राष्ट्रपतिको सरकार नभएको दाबी गर्नुभयो। कर्णाली प्रदेशका आर्थिक तथा योजनामन्त्री प्रकाश ज्वालाले पनि राष्ट्रपतिले सम्बोधन गर्दा मेरो सरकार भनेको मन पराउनुभएन। ज्वालाले नेपाल सरकार नै भएको दाबी गर्दै यसको बचाउ गर्नुभयो।