१५-२० दिनका लागि मात्र मोदी भारतका प्रधानमन्त्री हुन् : राहुल गान्धी

प्रकाशित मिति:

भारत – भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गरेका छन् । आधा चुनाव पछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको राहुलले बताए । राहुलले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन् । महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो ।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन् । ‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने।

राहुल भन्छन्, ‘हामीले मोदीसँग चार/पाँच चुनाव लडिसकेका छौँ। जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन् ।’ राहुलले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन् । उनले भने, ‘चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको छ । जहाँ सत्ता पक्ष भाजपाका लागि एउटा नियम छ भने विपक्षी पार्टीका लागि एउटा नियम छ । चुनाव आयोगमाथि पनि भाजपाको दबाब रहेको छ ।’

‘सन् २०१४ देखि नरेन्द्र मोदीले आफू १०/१५ वर्षका लागि प्रधानमन्त्री रहने बताउँदै आएका थिए । मोदीजीको प्रधानमन्त्रीको आयु अब १५ देखि २० दिनसम्मको मात्र छ । अब प्रधानमन्त्री को हुन्छ ? यो देशका नागरिकले तय गर्नेछन्’, राहुलले भने । राहुलले प्रधानमन्त्री मोदीलाई पत्रकार सम्मेलन गर्न पनि सुझाएका छन् । पाँच वर्षमा एक प्रधानमन्त्रीले एउटा पनि पत्रकार सम्मेलन नगर्नु राम्रो उचित नभएको राहुलले बताए ।