कुटिए धनुषाका वडाध्यक्ष !

प्रकाशित मिति:

धनुषा – धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हीरालाल महतो कुटिएका छन् । संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्यका प्रत्यासी राजकिशोर महतोले वडा कार्यालयमै वडाध्यक्ष हीरालालमाथि कुटपिट गरेका हुन् । प्रदेश २ सरकारले ससर्त अनुदानअन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैयाँको योजनाबारे समान्य विवादभएपछि राजकिशोरले हीरालालमाथि इँटा प्रहार गरेका हुन् ।

इँटा प्रहारबाट घाइते वडाध्यक्ष हीरालालको बटेश्वरमै उपचार भइरहेको छ । वडा कार्यालयमा सडक विवादबारे छलफल चलिरहँदा राजकिशोर आएर अनावश्यक बखेडा झिकेको र सामान्य भनाभनमै आफूमाथि आक्रमण गरेको वडाध्यक्ष हीरालालले बताए ।

यता, वडाध्यक्षमाथि इँटा प्रहार गरेका राजकिशोरले पनि आक्रमण गरेको स्विकारेका छन् । ‘वडाध्यक्षले मलाई थप्पड हानेपछि मैले पनि इँटा प्रहार गरें तर उनलाई लागेन,’ उनले भने । विवादकै साक्षी समेत रहेका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने दुवैलाई बैठक बसेर छलफल गर्न आग्रह गरेको बताए । ‘हामी यहीँ बसेर छलफल गरी दोषीलाई जरिवाना गरौं यदि हामीबाट विवाद समाधान नभए अगाडि बढ्नु भनेर दुबै पक्षलाई सम्झाएको छु,’ उनले भने । अध्यक्ष राउतले आफ्नो अगाडि नै वडाध्यक्ष र राजकिशोरबीच लछारपछार भएपछि राजकिशोरले इँटा प्रहार गरेको बताए ।