प्रदीप पौडेलको आरोप : नेकपाले शिक्षा र समग्र क्षेत्रमा कार्यकर्ता भर्ति गर्यो

प्रकाशित मिति:

लमजुङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने बताएका छन्। शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप हुँदा योग्य मानिस पछि परेको तथा गुणस्तरीय कामहरु नहुने उनको भनाइ छ।

विश्वविद्यालयका उपकुलपतिहरु राजनीतिक आस्थाका आधारमा भन्दा पनि योग्यताका आधारमा नियुक्त गरिनुपर्ने उनले बताए। नेपाल विद्यार्थी संघ लमजुङ कृषि क्याम्पसले गरेको कार्यक्रममा पौडेलले भने, ‘शिक्षामा राजनीतिक कार्यकर्ता भर्ति गर्न बन्द गर्नुपर्छ।’

नेपाल कम्युनिष्ट पार्टीले शिक्षा र समग्र क्षेत्रमा कार्यकर्ता भर्ति गरेको उनले आरोप लगाए। ‘शिक्षालाई कार्यकर्ता भर्ति गरेर नेकपाकरण गर्न खोजिएको छ,’ उनले भने। कार्यक्रममा नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले १२ औं महाधिवेशन गर्नका लागि नेविसंघको तदर्थ समिति गठनमा पार्टीले भूमिका खेल्नुपर्नेमा जोड दिए।