भाइरल ज्वरोले दुई गाउँ प्रभावित, एकको मृत्यु

प्रकाशित मिति:

बाजुरा – हिमाली गाउँपालिका वडा नं। ५ को क्युडी र वडा नं। ६ को पाडीमा भाइरल ज्वरो फैलिएको छ। एकाएक फैलिएको संक्रमणका कारण दुई गाउँ पूरै प्रभावित भएको स्थानीयले बताएका छन्। भाइरल संक्रमणकै कारण एकजनाको मृत्यु भइसकेको छ।

मृत्यु हुनेमा क्युडी गाउँकी ५५ वर्षीया छन्चकला बुढा रहेकी छन्। यी गाउँ भाइरल ज्वरोकोे उच्च जोखिममा रहेको हुम्लाको ताँजाकोट गाउँपालिकानजिकै पर्छन्। जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख अशोक सिंहले भाइरल ज्वरोका कारण बुढाको मृत्यु भएको पुष्टि गर्दै दर्जनौं स्थानीय बिरामी परेको बताएका छन्। छन्चकलाको बुधबार मृत्यु भएको हो। सबैजसो बिरामी परेपछि गाउँमै त्रास फैलिएको छ।

क्युडी र पाडीमा एक सातादेखि भाइरल ज्वरो फैलिएको हो। यी दुई गाउँका प्रायः सबै घरमा भाइरल ज्वरोका बिरामी छन्।क्युडी र पाडीको सबैजसो परिवार संक्रमणबाट प्रभावित छन्। घरमा बस्नेमध्ये अधिकांश बिरामी छन्। बिरामीमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेका छन्। मौसम परिवर्तनका कारण संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। छिमेकी जिल्ला हुम्लाको ताँजाकोटमा भाइरल ज्वरोकै कारण १० जनाको ज्यान गइसकेको छ। उमेर छिप्पिएका र कलिलो उमेर समूहकालाई संक्रमणले छिटो समात्ने गरेको छ। सहन नसक्ने र शारीरिक अवस्था कमजोर भएका व्यक्तिहरुको समयमै उपचार नभए ज्यानै जाने खतरासमेत रहेको स्थानीयको भनाइ छ।क्युडी र पाडीमा एक सातादेखि भाइरल ज्वरो फैलिएको हो। संक्रमण देखिएलगत्तै रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेरा नेतृत्वको टोलीले उपचार सेवा दिइरहेको छ। क्युडी गाउँमा मात्र ९३ जनाभन्दा बढीको उपचार गरिएको छ। रुघाखोकी पूर्णरूपमा नियन्त्रणमा नआउँदासम्म एक अहेब र एक अनमी गाउँमै रहने व्यवस्था मिलाइएको हिमाली गाउँपालिकाले जनाएको छ। थप जटिल अवस्था आए स्वास्थ्यकर्मीको अर्को टोली पठाउने तयारी स्वास्थ्य कार्यालयले गरेको छ। स्थानीयले भने संक्रमण एकाएक फैलिने डर भएकाले थप टोली तत्काल आउनुपर्ने माग गरेका छन्। औषधिसहितको स्वास्थ्यकर्मीको टोली गाउँ पठाउने तयारी भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले बताएका छन्। यसअघि नै हिमाली गाउँपालिकाका स्वास्थ्य संयोजक धर्मदत्त बुढा नेतृत्वमा तीनजना स्वास्थ्यकर्मी पाडी पठाइसकेको उनले बताए।